काठमाडौं २७ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । गत ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष ओलीलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस बाहेक अन्य सबै राष्ट्रिय दलले विश्वासको मत दिने देखिएको छ । थ्रेसहोल्डका कारण राष्ट्रिय दल बन्न वञ्चित साना दलका स्वतन्त्र हैसियतमा प्रतिनिधित्व गर्ने सांसदहरुले समेत ओलीलाई विश्वासको मत दिने भएका छन् ।
प्रधानमन्त्री नियुक्त भएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार ओलीले आइतबार दिउँसो ३ बजे बस्ने संसद बैठकमा विश्वासको मत लिने कार्यतालिका छ ।
सरकारलाई सामान्य बहुमत आवश्यक पर्ने भएपनि दुई तिहाई बढी सांसदको समर्थन जुट्ने भएको हो । प्रतिनिधिसभाको कुल संख्या २ सय ७५ मध्ये दुई बहुमतका लागि १३८ आवश्यक पर्छ भने दुई तिहाईका लागि १ सय ८४ सांसद आवश्यक पर्दछ । प्रधानमन्त्रीलाई सामान्य बहुमत आवश्यक पर्ने भएपनि वाम गठबन्धन नेकपा एमालेसँग १ सय २१ र माओवादी केन्द्रसँग ५३ सांसद रहेकाले दुई दलबाट नै उनलाई आवश्यक बहुमत पुग्नेछ । अन्य राष्ट्रिय दलका सांसद तथा स्वतन्त्र सांसदले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएकाले उनलाई दुई तिहाई बढी सांसदको विश्वास मत जुट्ने भएको हो ।
प्रतिनिधिसभामा १७ सिट संख्या रहेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ । राजपाले यसअघि वाम गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेकी विद्यादेवी भण्डारीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । राजपाले औपचारिक रुपमा समर्थन गर्ने निर्णय गर्न भने बाँकी छ । पार्टीका नेता सत्यनारायण यादवले अहिलेसम्म औपचारिक निर्णय नभई सकेको र आइतबार बैठक बसेर निर्णय हुने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आज ३ बजे विश्वासको मत लिँदै, दुई तिहाई समर्थन जुट्ने
Comments







