चैत्र २२ काठमाडौं । एमाओवादी नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री सुशिल कोइरालाको दिनगन्ती गन्न सुरु गरेको बताएका छन् ।
नेता भट्टराईले देश बनाउन ५/१० वर्ष एकै व्यक्तिलाई नेतृत्व दिनुपर्ने भन्दै आफू भने सुशिल कोइरालाई हटाउने पक्षमा नभएको समेत बताए ।
हामी चाही कोही मान्छे प्रधानमन्त्री बन्न पाएको हुदैन लडाउन सुरु गर्छौ भट्टराईले भने, आदरणीय सुशिल कोइरालाको समेत दिनगन्ती गन्न सुरु गरिसके । म त्यो पक्षमा छुइन । काम गर्ने समय नदिई हात खुट्टा बाधेर काम गरेन भन्न नमिल्ने उनको भनाई छ ।
उनले एक वर्ष, नौं महिना तथा ६ महिना भित्र कसैले पनि गर्न नसक्ने भन्दै मलेसिया, सिंगापुर बनाउन लामो समय एकै व्यक्तिले शासन सत्ता चलाएको उदाहरण समेत प्रस्तुत दिएका थिए ।
भट्टराईले दरबार हत्याकाण्डको छानबिन हुन आवश्यक रहेको पनि बताएका छन् । दरबार हत्याकाण्ड कसरी भयो भन्ने विषय अझै पनि रहस्यमय रहेको भन्दै डा. भट्टराईले सत्यतथ्य कुरा बाहिर आउन छानबिन हुनु पर्ने बताए ।
मोहन कुमार थापाद्धारा लिखित ‘ती सैनिक’ नामक पुस्तक विमोचन कार्यक्रममा शनिबार राजधानीमा नेता भट्टराईले दरबार हत्याकाण्ड दिपेन्द्र शाहले गरेको भनिए पनि किन त्यसो भयो भन्नेबारे सत्यतथ्य खोजिनुपर्ने धारणा राखे ।
दिपेन्द्रले मारे भन्ने करिब करिब त प्रत्यक्षदर्शीले भनिराखेका छन्, कार्यक्रममा बोल्दै नेता भट्टराईले भनेर्, तर उनले किन मारे र आफैं किन मारिए भन्ने छानबिन हुन आवश्यक छ ।’
कार्यक्रममा भट्टराईले दरबार हत्याकाण्ड दिपेन्द्रबाटै भएको भन्ने विषयमा आशंका समेत गरे । दिपेन्द्रले मारेका हुन् भने पनि किन मारे, कसरी मारे, अनि उनी किन मारिए भन्ने सत्यतथ्य छानबिन हुन जरुरी रहेकोमा उनले जोड दिए ।
लेखक थापाले भने आफ्नो नव विमोचित पुस्तक ती सैनिकमा दरबार हत्याकाण्डबारे छानबिन समिति गठन भएपनि सत्यतथ्य खोजीबारे भने प्रश्न उठाइएको छ । हत्याकाण्डमा को कसको भूमिका थियो ? कसरी त्यस प्रकारको दुर्घटना हुन गयो ? दोषीमाथि (चाहे मृत्यु नै भैसकेको भएपनि) के कस्तो दण्ड सजाय दिने ? भन्ने सम्बन्धमा गहन अनुसन्धान, छलफल र बहस भएन र आजसम्म भएको पनि नभएको पुस्तका उल्लेख गरिएको छ । पुस्तकमा २०५० जेठ २ गते नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको जिप दुर्घटनालाई हत्याको रुपमा उतार्दै त्यसयता त्यस प्रकारका रहस्यमय हत्या हुने क्रमः निरन्तर बढीरहेको समेत उल्लेख गरिएको छ ।
Comments