चैत्र १८ । दिल्लीको कोठीमा बुझाउन लगिएका दुई नेपाली किशोरी स्थानीय सामाजिक संघसंस्थाले उद्धार गरी नेपाली दूतावासको जिम्मा लगाएको दुई दिनमै आइतबार बिहान बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोक, इचोक गाउँबाट झुक्याएर दिल्ली ल्याइएका १५/१६ वर्षीया तामाङ किशोरीलाई मञ्जुकटिलास्थित एक गेस्ट हाउसबाट शुक्रबार उद्धार गरिएको थियो । उनीहरूलाई दूतावास अधिकारीको रोहवरमा जिम्मा लगाइएको थियो ।
किशोरीहरूलाई रक्सौलको बाटो हुादै चैत १ गते दिल्ली ल्याइएको थियो । उनीहरूलाई ४ लाख रुपैयाँमा बिक्री गर्ने तयारी भइरहेको सूचना पाएपछि दिल्लीस्थित अखिल भारत नेपाली एकता मञ्च, हेल्प नेपाली मिसन र प्रवासी नेपाली जनकल्याण समितिका पदाधिकारी मिलेर उद्धार गरेका थिए ।
दुईमध्ये एकका दाजु सोमबहादुर तामाङ काठमाडौंको बौद्ध थानामा बहिनीहरू खोजतलासका निम्ति आवेदन दिँदै दिल्ली आइपुगेका थिए । सोमबहादुरकै जानकारीका आधारमा इचोक गाउँकै फूलमाया तामाङ र कालु लामाले किशोरीहरू लुकाएर राखेको पत्ता लागेपछि नेपाली समाजका प्रतिनिधिले गेस्टहाउसमा छापा मारेका थिए ।
‘गेस्ट हाउसबाट उद्धार गर्ने क्रममा यी तामाङ बहिनीलाई फकाएर गाउँबाट ल्याउने फूलमाया तामाङ पनि साथै भएकाले तीनैजनालाई दूतावासमा बुझाएका हौं,’ एकता मञ्चका राज्य सचिव जीवन शर्माले भने । बेचिएका र बिक्री गर्ने तीनै युवतीलाई जिम्मेवार पदाधिकारीसहितको रोहवरमा शुक्रबारदेखि दूतावास परिसरको आश्रयस्थलमा राखिएको थियो । भारत छिर्न सजिलो होस् भनी फूलमायाले आफ्नी ३ वर्षकी बच्चीलाई पनि साथै ल्याएकी छन् । बेचिएका दुई युवतीले ३ र १ कक्षा मात्रै पढेको बताएको कान्तिपुर दैनिकमा खबर छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।