हास्यव्यंग्य अभिनेता एवं सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अब नेपाललाई क्रिकेटबाट विश्वमा अझ चिनाउन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान नेपालमा निर्माण गर्ने भएका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय गुणस्तरको क्रिकेट मैदान निर्माणको घोषणा गरेका हुन् ।

बिहीबार राजधानीसँग कुरा गर्दै सीतारामले भने, ‘धुमुर्स सुन्तली फाउन्डेसनमार्फत हामी नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियोजनाको सर्बेको काम सकेर मास्टर प्लान, डीपीआर र ईआईएको प्रक्रियामा अहिले अघि बढिरहेका छौं । नेपालले क्रिकेटमा आईसीसीबाट वान डे मान्यता पाएको बेला यहाँ

अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान छैन ।’ उनले अगाडि थपे, ‘भाइ कुमार कट्टेलले पनि अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउनुपर्छ भनिरहेको बेला धेरैतिरबाट अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन सुझाव आएपछि हामी यो अभियानमा जुटेको हौं ।’

आहिलेसम्म आफूलाई परियोजनामा साथ दिने सम्पूर्ण सहयोगीहरूले पनि अन्तर्राष्ट्रिय क्रिकेट निर्माण गर्नुपर्ने चाहना व्यक्त गर्दै आएको पनि सीतारामले बताए । यो परियोजनाका लागि एक दुई दिनभित्र नै नेपाल सरकारलाई भेटेर सकेसम्म काठमाडौं उपत्यकाभित्र नै आवश्यक जग्गा मिलाइदिन पहल गर्ने पनि सीतारामले बताए, ‘काठमाडौं बाहिरबाट त धेरै ठाउँबाट सांसदज्यूहरू देखि मेयरज्यूहरूसम्मले अन्तर्राष्ट्रियस्तरको क्रिकेटका लागि आवश्यक जग्गाको प्रस्ताव गरिसक्नु भएको छ । सकेसम्म काठमाडौं उपन्यकाभित्र भए क्रिकेटका राष्ट्रिय टिमलाई सजिलो हुने भएकाले हामीले सरकारलाई उपत्यकाभित्रै जग्गाका लागि पहल गर्न लागेका हौं ।’

अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि एउटा टोलीको तयारी भइरहेको पनि सीतारामले जानकारी गराए । सरकारले नै अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि योजना बनाइरहेको बेला आफूहरूले सो परियोजनाको मातहतमा अभियन्ताको रूपमा सघाउन लागेको प्रस्ट पार्दै उनले भने, ‘राष्ट्रिय गौरवको यो परियोजनालाई हामीले संयोजन गरेर निर्माण गर्नेछौं । आईसीसीले तय गरेको मान्यतालाई अपनाउँदै बनाउनुपर्ने यो मैदान चाँडोभन्दा चाँडो तयार गर्न हाम्रो प्रयास रहनेछ ।’

खेलकुदका लागि भौतिक पूर्वाधार पनि त्यत्तिकै आवश्यक भएको खेलाडीहरूले नै बताएकाले आफूहरूको यसप्रति चासो बढेको पनि सीतारामले प्रकाश पारे । नेपाली क्रिकेटले वान डेको मान्यता र अवसर पाएको बेला यहाँ नै अन्तर्राष्ट्रिय गुणस्तरको क्रिकेट मैदान भए नेपालमै अन्तर्राष्ट्रिय वान डे खेलहरू भइरहने पनि यी अभियन्ताको भनाइ छ ।

यो परियोजनाका लागि आवश्यक रकमबारे अहिले घोषणा गर्न गाह्रो भएको पनि सीतारामको कथन छ । सरकारबाट जग्गा प्राप्त भएपछि त्यसको मास्टर प्लान, डीपीआर र ईआईएको प्रक्रियापछि बजेट तय हुने भनाइ उनको छ । मूलतः यसमा करोडको नभएर अर्बको बजेट लाग्न सक्ने पनि उनले बताए ।

यो परियोजनामा नेपाल सरकारले गम्भीरतापूर्वक साथ, सहयोग अनि समन्वय गर्ने विश्वास सीताराम र कुञ्जनाले व्यक्त गरेका छन् । यी जोडीले राजधानीसँग भने, ‘सबै मिलेर निर्धारित समयभित्रै

अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बनाउन हामी सक्नेछौं, विश्व चिनाउने अझै धेरै खेलाडी उत्पादन गर्न सक्नेछौं, विश्वभरि नेपालको नाम चम्काउन सक्नेछौं ।’

अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनेपछि यसले सिंगो खेल जगतसँगै नेपाललाई नै आर्थिक समृद्धितर्फ अघि बढाउन पनि महŒवपूर्ण भूमिका खेल्ने विश्वास यी जोडीको छ । सो खेल मैदान क्षेत्र एउटा सुन्दर खेल पर्यटकीय गन्तव्य पनि पनि यी जोडीले बताएका छन्, ‘राष्ट्रिय तथा

अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहँदा विश्वभरिबाट खेलका पारखीहरू अनि खेलाडीहरू नेपाल भित्रिँदा देशलाई महŒवपूर्ण आर्थिक लाभ पुग्नेछ । यही कारण देशका हरेक महŒवपूर्ण सम्पदाहरूको प्रचार पनि स्टेडियमकै माध्यमले हुने देखेर पनि हामी यसतर्फ आकर्षित भएका हौं ।’

यो परियोजना मुलुककै गौरवको विषय भएकाले आफूहरूले आजैबाट जुटेको बताउँदै धुमुर्स सुन्तलीले यसमा सघाउन सबैलाई आह्वान पनि गरेका छन् । – राजधानी दैनिकबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।