जाजरकोट १९ चैत । कहिले चिकित्सक नहुने त कहिले औषधि अभाव । जाजरकोटवासीले नियमित खेप्दै आएका स्वास्थ्य समस्या हुन् यी । आठ वर्षपहिलेको झाडापखालाको महामारी र दुई वर्षपहिलेको स्वाइनफ्लुको महामारीपछि जिल्लाको स्वास्थ्य समस्या समाधानका लागि सरकारले जाजरकोट जिल्ला अस्पताललाई दुई वर्षपहिले १५ शैयाबाट ५० शैयामा स्तरोन्नतिको घोषणा गरे पनि जिल्लाको स्वास्थ्य समस्या भने उस्तै छ ।

जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीले सामान्य औषधिको सिटामोलसमेत पाउँदैनन् । औषधि अभावकै कारण औषधि वितरण कक्ष विगत दुई महिनादेखि बन्द छ ।

‘निःशुल्क वितरण गरिने औषधि सकिएपछि डिस्पेन्सरी बन्द गरेका छौं,’ जिल्ला अस्पतालका निमित्त प्रमुख डा. अमिन शाहीले भने, ‘औषधिको माग सम्बन्धित सबै निकायमा गरेका छौं तर समस्या समाधानका लागि कतैबाट पहल भएको छैन ।’

सरकारले जिल्ला अस्पतालहरूबाट ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जाजरकोट अस्पतालमा सामान्य औषधिसमेत अभाव भएको छ । उपचारका लागि अस्पताल आएका बिरामीहरूले कुनै पनि औषधि नपाएको गुनासो गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।