काठमाडौं २० चैत । वर्तमान केपी ओली नेतृत्वको सरकारले नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको मुलुकमा गणतन्त्र दिवसको बिदा हटाएर व्यवस्थामाथि प्रहार गरेको छ ।
बग्रेल्ती बिदालाई हटाएर कामकाजी व्यवस्था ल्याउन खोज्नु सरकारको सुशासनको पहल राम्रो भएपनि गणतन्त्र दिवसलाई जातिय तथा धार्मिक पर्व झैं हटाउनुले भने अहिले संविधानमा नै अँगालिएको लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि प्रहार हुन पुगेको हो । यसअघि, एमाले उपाध्यक्ष बामदेव गौतम संयोजकत्वको कार्यदलले गणतन्त्र दिवसलाई सार्वजनिक बिदा दिएर अन्य हटाउन सुझाव समेत दिएको थियो ।
बिदा कटौतीको धेरैतिर स्वागत भएपनि गणतन्त्रको बिदा कटाएकोप्रति भने विरोध समेत छ । माओवादी केन्द्रका नेता मणी थापाले बग्रेल्ती बिदा कटाउनु ठिक भएको र यो कटाउनै पर्ने भएपनि जातिय तथा धार्मिक बाहेक कुन राख्ने कुन नराख्ने भन्नेमा सन्तुलन नमिलेको बताए ।
केही धार्मिक तथा जातीय पर्वको सार्वजनिक बिदा कटौती गर्ने क्रममा सरकारले संविधानको प्रस्तावना र प्रारम्भमा नै उल्लिखित लोकतन्त्र र गणतन्त्रका रूपमा परिभाषित महत्वपूर्ण इतिहासलाई पर्वझैं गरी सार्वजनिक बिदाको सूचीबाट हटाएको हो ।

नेपालको संविधान २०७२ को प्रस्तावनामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहने उल्लेख छ भने संविधानको प्रारम्भमा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर परिभाषित गरिएको छ । वर्तमान सरकारले भने धार्मिक तथा जातीय पर्वझैं लोकतन्त्र तथा गणतन्त्र दिवसलाई पनि एउटै तहमा राख्दै हटाएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता संयोजन समितिबाट ७ माघमा सुशासन र विकासको प्राथमिकताका सम्बन्धमा सरकारलाई सुझाव दिन गठित एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस र संविधान दिवसमध्ये गणतन्त्र दिवसमा सार्वजनिक बिदा दिने र अन्य ऐतिहासिक दिवसमा कार्यक्रम आयोजना गर्ने तर सार्वजनिक बिदा नदिने सुझाव दिएको थियो । सरकारले भने गणतन्त्र दिवसमा बिदा दिने सुझावविपरीत संविधान दिवसमा सार्वजनिक बिदा दिने र अन्य दिवसमा बिदा नदिने निर्णय गरेको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयमार्फत अन्य जातीय तथा धार्मिक दिवस जस्तै लोकतन्त्र र गणतन्त्रको बिदा हटाउने प्रस्ताव गएको थियो ।







