समितिलाई नै चुनाव चिह्न र जनयुद्धबारेको विवाद मिलाउने जिम्मा काठमाडाैं २० चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकताको खाका तय गर्न गठन गरेको दुवै कार्यदलले आगामी ९ वैशाखमा पार्टी एकताको प्रस्तावसहित प्रतिवेदन बुझाएका छन् ।
एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको अन्तरिम राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापाको नेतृत्वको अन्तरिम विधान मस्यौदा कार्यदलले मंगलबार पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विधान मस्यौदा कार्यदल सदस्य गिरिराजमणी पोखरेलले दुवै कार्यदलले मंगलबार प्रतिवेदन बुझाएको र दुवै कार्यदलले ९ वैशाख लेनिन जयन्तीका दिन पार्टी एकताको प्रस्ताव गरेको जानकारी दिए ।
कार्यदलमा सहमति जुट्न केही विषय भने अब पार्टी एकता संयोजन समितिलाई जिम्मा दिइएको छ । चुनाव चिह्नका विषयमा दुई पार्टीबिच सहमति जुट्न सकेको छैन । जनयुद्धको विषयमा पनि सहमति जुटन बाँकी छ । एमालेले सूर्यलाई यथावत राख्ने अडान राखेको भने माओवादीले सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने अडान राखेको छ । दुई पार्टीबीच विधानमा जनयुद्ध शब्दलाई लिएर पनि विवाद छ । माओवादी केन्द्रले जनयुद्धको भूमिकालाई प्रारम्भमा राख्नुपर्ने अडान राखेपनि एमालेले अस्वीकार गरेको छ । दुई पार्टीबीच अझै जटिल विष्या नेता व्यवस्थापन पनि देखिएको छ । स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा पर्ने नेताको भागबन्डामा सहमति जुट्न सकेको छैन । एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समिति बनाउने गरी प्रस्ताव गरेको छ । त्यसमा केन्द्रीय समितिदेखि स्थायी समितिसम्म दुई पक्षका नेताहरूको व्यवस्थापन मिलाउन बाँकी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रतिवेदन बुझाएसँगै माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बिहीबार एकता संयोजन समितिको बैठक बसेर प्रतिवेदनमाथि छलफल गरेर बाँकी विषय टुंग्याउने जानकारी दिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।