चैत्र ११ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको १७ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ । दलको कार्यसमिति चयनका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालय मङ्गलवार ३२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
 उम्मेदवारी दर्ताका लागि बुधवार विहान ११ बजेसम्मका लागि समय दिइएको छ । कार्यतालिका अनुसार बुधवार साढे ११ बजे देखि पौने १२ बजेसम्म उम्मेदवारीमाथि दावी विरोध गर्न सकिनेछ भने १२ बजे उम्मेदवारको दोस्रो चरणको नामावली प्रकाशन गरिनेछ । उम्मेदवारी फिर्ताका लागि १२ बजेदेखि साढे १ बजेसम्मको समय तोकिएको छ । अन्तिम नामावली बुधबार पौने २ बजे सार्वजनिक गरिने छ । संसदीय दलको कार्य समिति सदस्यका लागि बुधबार दिउँसो ३ बजेवाट साढे ५ बजेसम्म मतदान हुनेछ ।
उक्त दलले संसदीय दलको विधानअनुसार प्रत्येक विकास क्षेत्रबाट एक–एक जना, मधेसी समुदायबाट एक पुरुष र दुई महिला, दलितबाट एक–एक जना महिला र पुरुष चयन गर्ने तयारी गरेको छ । उत्पीडित र आदिवासीवाट एक पुरुष र दुई महिला, पिछडिएको क्षेत्रबाट एक र खस आर्य तथा अन्यवाट एक महिला र दुई पुरुष गरी १७ सदस्य समिति गठन गरिने कांग्रेस संसदीय दलको विधानमा व्यवस्था छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।