पुष्पकमल दाहाल प्रचण्ड
आज हामीले एकीकृत कम्युनिस्ट पार्टीको घोषणा गरेका छौं । थाहा नपाएको मितिमा पार्टी एकताको घोषणा हुने बताउँदै आएको थिएँ । आज त्यसरी नै हामीले पार्टी एकताको घोषणा गरेका छौं । एउटा ऐतिहासिक दिन, कमरेड मदन भण्डारीको अवसान भएको दिन, उहाँ र कमरेड जीवराज आश्रितप्रति श्रद्धा व्यक्त गर्ने आजकै दिन पार्टी एकताका लागि प्रस्ताव गर्ने अवसर पनि मलाई मिल्यो । ऐतिहासिक एकता घोषणासभामा हिजोको महान जनयुद्ध र ऐतिहासक जनआन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण अमर शहीदहरू, बेपत्ता योद्धा सबैप्रति हार्दिक सम्मान र श्रद्धा व्यक्त गर्न चाहन्छु । सबै युद्ध र आन्दोलनमा घाइते भएका सबै सहयोद्धाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु ।
यो एकता नेपाल राष्ट्रका निम्ति, नेपाली जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्नका निम्ति, नेपाली कम्युनिस्ट आन्दोलनको विचार, सिद्धान्त, दर्शनमा अझ बढी परिमार्जन गर्नका निम्ति एउटा ठूलो बहसमार्फत विचारलाई विकसित गर्न निम्ति नेपाली राजनीतिक आन्दोलन मात्रै होइन, अन्तर्राष्ट्रिय वामपन्थी, कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने दृष्टिले र अन्तर्राष्ट्रिय राजनीतिमा पनि नेपालबाट एउटा नयाँ सन्देश, स्थिरता विकास र सुशासन हामी दिन सक्छौं भन्ने एउटा उद्देश्यले पनि यो एकता अर्थपूर्ण छ, बहुआयामिक छ ।
मलाई आज यो एकताको घोषणामा केही शब्द राख्दै गर्दा २०४६ सालको जनआन्दोलन त्यसले एउटा नयाँ परिस्थिति सिर्जना ग¥यो । त्यसले सामन्तवादविरुद्ध निरंकुशताविरुद्ध सबै लोकतान्त्रिक र कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आउनुपर्छ भन्ने मान्यतालाई स्थापित गरेको थियो । जसरी हामीले निरंशकुतन्त्रविरुद्ध त्यतिबेला संयुक्त आन्दोलनमा हामी सहभागी भयौं । निरंकुशतन्त्रविरुद्ध सबै राजनीतिक शक्तिहरू एक ठाउँमा जुटोस्, सबै लोकतान्त्रिक शक्तिहरू सबै वामपन्थी र कम्युनिस्ट शक्तिहरू एक ठाउँमा जुटून् भन्ने नेपाली जनताको लामो समयदेखिको चाहना थियो । तर, दुर्भाग्य कम्युनिस्ट आन्दोलन विभाजित थियो र लोकतान्त्रिक शक्तिहरू सबै शक्तिहरूको बीचमा एकअर्कामा निकै ठूलो वैमनस्यता थियो । ३० वर्षे निरंकुश पञ्चायती तानाशाहीका विरुद्ध संघर्षको क्रममा जनताको त्यो भावना राजनीतिक पार्टीभित्र राजनीतिक नेतृत्वको दिमागभित्र विस्तारै घर गर्दै गयो र त्यसले एउटा एकीकृत ऐतिहासिक जनआन्दोलनको रूप लियो । र, पञ्चायती निरंकुशताबाट देशले मुक्ति प्राप्त ग¥यो ।
त्यो जनआन्दोलन जनचाहनाअनुसार भएको थियो । त्यस्तै कम्युनिस्टहरूमा पनि विभाजनलाई अन्त्य गर्नुपर्छ भन्ने एउटा नयाँ चेतना बन्यो । त्यो विभाजनको शृंखलाबाट एकतातिर जानुपर्छ भन्ने नयाँ चेतनातिर त्यसले अग्रसर गरायो । त्यही सन्दर्भमा नेकपा एमाले भन्ने नयाँ माले र माक्र्सवादीको बीचमा एकता भएर एमाले बन्ने प्रक्रिया सुरु भयो । त्यसैगरी, विभिन्न समूहमा विभाजित माओवादी धाराका पार्टीहरू मिलेर एकता अघि बढ्यो । जनता र राष्ट्रको आवश्यकताद्वारा निर्देशित थियो ।
आज फेरि एकपटक कमरेड मदन भण्डारीलाई सम्झन चाहन्छु । मैले यसअघि पनि धेरैपटक भनेको छु । त्यतिखेर पनि यी दुई विचारधाराबीच एकता सम्भव छ र हामीले प्रयास गुर्नपर्छ भनिएको थियो । दुर्भाग्यवश त्यतिखेर कमरेड मदन भण्डारीले जुन गतिशीलताका साथ राष्ट्र र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सपना देख्नुभएको थियो, उहाँको त्यो सपना उहाँको बलिदान अझ बढी शक्तिशाली भयो । र, आज उहाँसँगै हजारौं शहीदको त्यो बलिदानले गर्दा सम्भव भएको हो ।
हामीले निरन्तर एकता र ध्रुवीकरणको प्रयत्न गरिरह्यौं । सहकार्यका विभिन्न अनुभवहरू हासिल गर्दै अघि बढ्यौं । वैचारिक संघर्षका पनि थुप्रै उतारचढाव पार गर्दै आयौं । र, यो बिन्दुमा आइपुग्दा अब देशले यसभन्दा बढी राजनीतिक अस्थिरता, यसभन्दा बढी राजनीतिक अराजकताको भूमरी सहन सक्दैन । यो बढी राजनीतिक अस्थिरता र अराजकतातिर जाने छुट दियौं भने हामी राजनीतिक नेता, कम्युनिस्ट नेता हुनुको औचित्य समाप्त हुन्छ भन्ने ठानेर नै एकता लागि यही मञ्चबाट गठबन्धनको घोषणा गरेका थिायौं । मैले त्यसबेला पनि भनेको थिएँ, यो कसैका विरुद्ध नठानियोस् । यो नेपाल राष्ट्र र नेपाली जनताको ऐतिहासिक आवश्यकता र आकांक्षा सम्बोधन गर्ने हाम्रो इमानदार प्रयास हो । हामी राष्ट्र र जनताको पक्षमा नयाँ इतिहास निर्माण गर्ने प्रक्रियामा अघि बढेका छौं । निर्वाचनको दौरानमा हामीले जुन घोषणा ग¥यौं र जनताको अगाडि संकल्प ग¥यौं । हामीलाई थुप्रै मानिसले हाम्रै समर्थकहरूले पनि शंकाको नजरले हेर्ने गरेका थिए । साँच्चिकै यो पार्टी एकता हुन्छ त ? कतिपय स्थापित कलाकारहरूले त कमरेड केपी र म एउटै मञ्चबाट भाषण गर्दैगर्दा म अहिले बधाई दिन्न, मलाई अझै लागेको छैन, यो एकता हुन्छ कि हुँदैन भन्ने विश्वास मलाई भएको छैन, जुन एकता हुन्छ त्यही दिन बधाई दिउँला भनेर हजारौंका अगाडि भनेका थिए । अलमलको स्थिति देखिएको पनि हो ।
विकासको नियम चाहे प्रकृतिमा होस् चाहे समाजमा होस् चाहे चिन्तन, राजनीतिमा होस् । त्यहाँ केही न केही उतारचढाव हुन्छ । घुम्ती मोडहरू हुनु, संघर्षहरू हुनु स्वाभाविक छ । त्यसलाई अस्वाभाविक रूपमा लिनुहुन्न । हामीले ती घुम्ती मोडहरूमा बडो दृढताका साथ जनताका अगाडि उभिएर भन्यौं, एकताका निम्ति हामीले पछाडि फर्कने पुल भत्काएर आएका छौं । हामी एकता गरिछाड्छौं । यो दृढता हामीले निरन्तर राख्यौं । यही मञ्चबाट कमरेड केपीले त खुट्टै काटेर भए पनि जुत्ता मिलाइन्छ भनेर उद्घोष गर्नुभएको थियो ।
आज बडो गर्वका साथ हामीले जनताका अघि जे संकल्प गरेका थियौं, जे प्रतिबद्धता जनाएका थियौं, हामीले पूरा गरेका छौं । म गर्वका साथ आमजनतलाई र आमकम्युनिस्ट कार्यकर्ताहरूलाई बधाई र शुभकामना दिन चाहन्छु । हामीले आफ्नो संकल्पलाई पूरा गरेका छौं । यसरी पार्टी एकता गर्नुको मुख्य संकल्प त जनतालाई सुखी र समृद्ध बनाउनु, राष्ट्रलाई समृद्ध र हाम्रो स्वाधीनतालाई समृद्ध बनाउनु यसको उद्देश्य हो । अन्ततः हामी सामाजिक न्यायसहितको आर्थिक समृद्धिद्वारा देशलाई समाजवादतिर लिएर जाने प्रतिबद्धता गरेका छौं । यो ऐतिहासिक घोषणा कार्यक्रममार्फत आमजनतालाई सम्पूर्ण नेता कार्यकर्ताहरूलाई समर्थक एवं शुचचिन्तकलाई विश्वास दिलाउन चाहन्छु, हामी जनताका अगाडि गरिएको प्रतिबद्धताबाट कदाचित विचलित हुनेछैनौं । अब नयाँ युगको सुरुवात भएको छ । अस्थिरता अराजकताको भूमरीको पुरानो युग समाप्त भएको छ । अब स्थिरता, विकास, समृद्धि, सुशासनको नयाँ युग सुरु भएको छ ।
केही वर्षदेखि हामी कम्युनिस्टहरूमा विचार, सिद्धान्त, दर्शन, आदर्श, मूल्य मान्यतामा कहीँ न कहीँ स्खलन, कमजोरी हुँदै व्यक्तिगत स्वार्थ उपभोक्तावादी चिन्तन क्रमिक रूपमा विस्तारैविस्तारै स्थापित हुँदै गएको बडो दुःखद स्थितिको सामना हामीले गर्दै आएका छौं ।
आज फेरि हामी सबैले संकल्प गर्नुपरेको छ, इतिहासमा धेरै कम्युनिस्ट पार्टीहरू संघर्ष, त्याग र बलिदान गरेर संसारलाई थर्काउने र हल्लाउनेगरी क्रान्ति भएका छन् । तर, सत्तामा पुगिसकेपछि तिनै पार्टी यति भ्रष्ट, स्खलित, आदर्शहीन, जनतालाई समातेर तिनलाई पिटीपिटी मार्नुपर्ने नेतामा परिणत भएका छन् । यो एकताको घोषणा गर्दैगर्दा के साँच्चै संकल्प लिनैपर्छ, हामी त्यस्तो हुन दिने छैनौं । मेरो जिवनमा निरन्तर क्रम भंग हुँदै आए । कहिले कहीँ त गल्ती गरें भन्ने लाग्छ, गल्ती गर्दा देश र जनताले दुःख पाएका छन् । गल्ती नभएको बेला हरेक ठाउँमा देश र जनताले सुख पाएका छन् । अहिलेको एकता गल्ती हैन । यो जनतालाई सुखी र देशलाई समृद्ध बनाउन हो । विभिन्न ससाना कम्युनिष्टहरु बिच एकता पनि हुँदै आएका छन् । तर यो एकता तिनीहरु मध्ये सबैभन्दा बढी गुणात्मक फड्को हो । हाइड्रोजन र अक्सिजन मिलेपछि पानी बन्छ । पानीमा अक्सिजन खोज्दा पनि भेटिन्न, हाइड्रोजन पनि भेटिन्न अब एमाले र माओवादी केन्द्र मिलेका छन् । यसमा कोही खोज्दा पनि भेटिन्नन्, यसले पानी जस्तै नयाँ तत्व दिनेछ ।
मैले हिजो जनयुद्धको पनि नेतृत्व गरेको छु । त्यतिबेला बलिदानीका लागि तछाडमझाड हुन्थ्यो । अघिल्लो भागमा बसेर युद्ध लड्न नपाएको गुनासो हुन्थ्यो । अहिले म सांसद मन्त्री प्रधानमन्त्री हुन प्रतिस्पर्धा देखिन्छ, यस्ता खाले बिउहरु देखिन्छन्, यो बिउ निमिट्यान्न पारेर अघि बढ्न पर्दछ ।
हामी आदर्शमा समर्पित विचार दर्शन, सिद्धान्तलाई बहस गर्दै, परिमार्जन गर्दै त्यसमा समर्पित हुने नयाँ कम्युनिस्ट पार्टी जनतासँग भिज्ने कम्युनिस्ट पार्टी बनाउँछौं ।
२१औं शताब्दीको चुनौती र सम्भावनालाई बुझ्न सक्ने, अहिलेको विश्व परिस्थिति, क्षेत्रीय परिस्थिति, राष्ट्रिय परिस्थितिका सम्भावना र चुनौतीलाई बुझ्न सक्ने एउटा नयाँ कम्युनिस्ट पार्टी निरन्तर जनताको पक्षमा उभिने पार्टी बनाउन चाहन्छौं । जनताका निम्ति समर्पित हुनुबाहेक कम्युनिस्ट हुनुको अरू कुनै औचित्य छँदै छैन । तर, कताकता सत्ताको नजिक हुँदै गएपछि हामीमा थाहै नपाईकन विस्तारैविस्तारै स्खलन आउने संकेत देखिने गरेको छ । त्यसका विरुद्ध लाग्नका निमित्त यो एकता सफल हुनैपर्छ ।







