गौशाला, चैत ७ । हात भाँचिएको बहाना बनाउँदै आफ्नै दिदीको ठाउँमा परीक्षा दिने भाइलाई महोत्तरी प्रहरीले आज पक्राउ गरेको छ।
मझौरा विसनपुर माविबाट एसएलसी परीक्षामा सहभागी भएकी २२ वर्षीया सञ्जिला यादवले हात भाँचिएको मेडिकल रिपोर्ट तयार पारी हातमा प्लास्टर लगाई आफ्नै काकाको छोरा धीरेन्द्र यादवबाट परीक्षा दिइरहेको बेला दुवै जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
एसएलसी परीक्षा जिल्ला समन्वय समितिका अध्यक्ष एवम् महोत्तरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाको नेतृत्वमा खटिगएको अनुगमन टोलीले राम उच्च मावि मटिहानी परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरेको हो।
अनुगमन टोलीले सञ्जिलाको हात जाँच गर्दा नक्कली प्लास्टर भएको फेला परेको थियो।
एसएलसी परीक्षाको मर्यादाविपरीत कार्य गरेको भन्दै उनको परीक्षासमेत रद्द गरिएको जनाइएको छ।
पक्राउ परेका दुवैमाथि परीक्षा मर्यादा उल्लङ्घनसम्बन्धी मुद्दा चलाउने तयारी गरिएको छ । परीक्षासम्बन्धी ऐनमा मर्यादाविपरीत कार्य गर्नेलाई छ महिना कैद वा रु एक लाख जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको छ । रासस
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।