यी हुन् केसीका सरकारले पूरा गरेका मुख्य बुँदा

    सरकार–केसी नौबुँदे सहमति

काठमाडौं ११ साउन
चिकित्सा क्षेत्र सुधारको माग राखेर अनशन बसेका डा. गोविन्द केसीले माग पूरा गर्ने प्रतिवद्धतापछि बिहीबार राती अनसन तोडेका छन् ।
उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न प्रतिबन्धसहितको नौबुँदे सहमतिपछि २७औं दिनमा अनशन तोडेका हुन् ।
उनको मुख्य मागमध्ये उपत्यकामा मेडिकल कलेज खोल्न नदिने तर उपत्यका बाहिर दिने एक थियो । दोस्रो, एउटै कलेजलाई ५ वटा भन्दा बढी शिक्षण संस्थाको सम्बन्धन दिन नहुने थियो । तेस्रो, सरकारी संस्थाले ७५ प्रतिशत निशुल्क छात्रावृत्ति हुनुपर्ने रहेको थियो । यी सबै माग विधेयक संशोधनमार्फत हल गर्ने सरकारको सहमति भएपछि केसीले अनसन तोडेका हुन् ।
सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच बिहीबार राति १० बजेर २० मिनेटमा नौबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो भने साढे १० मा अनसन तोडेका थिए ।
यसअघि आशयपत्र प्राप्त गरी पूर्वाधार पूरा गरेका शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्ने सहमति पनि भएको छ । त्यस्तै, उनीहरूलाई उपत्यकामा बाहिर जान चाहेमा सरकारले सुविधा दिइने भएको छ ।
सरकार र केसीबीचको सहमतिअनुसार मेडिकल कलेज सञ्चालन गर्न तीन वर्षसम्म आफ्नै अस्पताल पूर्ण रूपमा सञ्चालन गरेको समेत हुनुपर्ने भएको छ । ऐन प्रारम्भ हुनुअगावै आशयपत्र पाइसकेको भएमा सर्त तोकिएको अवधिभित्र पूरा नगरेमा त्यस्ता शिक्षण संस्थाको आशयपत्रसमेत नवीकरण नगरिने सहमति भएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशमा सो व्यवस्था भए पनि सरकारले हटाएर संसद्मा विधेयक पेस गरेको थियो । त्यसलगत्तै डा. केसी अनशन बसेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।