काठमाडौं । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ अहिले प्रवक्ता पदबाट राजीनामा दिएर बसेका छन् ।
डा. गोविन्द केसीको अनसनको विषयमा मौखिक स्पष्टिकरण सोधेको विषयलाई मुख्य आधार बनाएर उनले राजीनामा दिएका हुन् । श्रेष्ठले असन्तुष्टिकै कारण राजीनामा दिएका हुन् । तर, पार्टी नेतृत्वप्रति उनले सार्वजनिक रुपमा असन्तुष्टि पोखेका छैनन् ।
कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २१औँ स्मृति दिवसको अवसरमा भने उनले प्रधानमन्त्री ओलीलाई समेत छुने गरी अभिव्यक्ति दिए ।
पार्टीलाई सुदृढीकरणमा लगेर जसरी पनि यो सरकारलाई हर हालतमा सफल बनाउनुपर्ने बताएका उनले ठूलो परिवर्तनको कुरा गरेर मात्र भने नहुने बताएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय निर्धारित कार्यक्रममा ढिला गरी पु्ग्ने गरेको, आयोजक तथा सहभागीलाई घण्टौं कुराउने गुनासो आउने गरेको छ । सो कार्यक्रममा श्रेष्ठले पनि १५ मिनेट बस्ने नत्र हिड्ने बताएका थिए ।
‘आसनग्रहण परिवर्तन गरौँ यस्तो लम्बेतान गर्न छोडौँ । १५ मिनेट बस्ने हो नभए हिँड्ने हो, ठूलो परिवर्तनको कुरा गर्छौं यै सानो कुरा पनि परिवर्तन गर्न सकेनौँ भने कसरी परिवर्तन हुन्छ ? उनले भनेका थिए ।
श्रेष्ठले तोकिएकै समयमा कार्यक्रम सुरु हुन नसकेको प्रति गुनासो गरेपनि उक्त कुरा प्रधानमन्त्रीको ढिलाईप्रति पनि लक्षित रहेको भनेर पछिल्लो पटक निक्कै चर्चा हुने गरेको छ ।




