भीमदत्तनगर, १६ भदौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा आज बिहान खानेपानी मन्त्री बिना मगर केहीबेर सन्नाटा छाउनुका साथै केहीबेर आगन्तुक सबै स्तब्ध बने ।
मन्त्री मगर निर्मलाको घर पुग्दा निर्मलाका आमा र आफन्तले आँशु थाम्न सकेनन् । छोरी निर्मलाको हत्यारा पत्ता लगाउन आग्रसहित स्तब्ध बनेकी आमा दुर्गा पन्तसँगै रोइरहेकी आफन्त महिलाको आँशु पुस्छ मन्त्री मगर अघि सरिन् । सो क्रममा भावुक बनेकी मन्त्री मगरले पनि आँशु थाम्न सकिनन् । ।
उनीसँगै निर्मलाका परिवार भेट्न पुगेकी प्रतिनिधिसभा सदस्य नीरु पालका पनि आँखा रसाइरहेका थिए । प्रतिनिधिसभा सदस्य पालले निर्मलाका आमालाई सहानुभूति व्यक्त गर्दै सबै मिलेर हत्यारालाई कारवाहीको दायरामा ल्याउने बचन दिइन् ।
त्यसैगरी निर्मला हत्या काण्डका दोषीलाई कारबाहीको माग गर्दै केही दिनअघि भीमदत्तनगरमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहादत प्राप्त भीमदत्त नगरपालिका–१८ भगतपुरका १४ वर्षीय शहीद सनी खुनाको घर पुग्दा पनि मन्त्री मगरसहित सबै स्तब्ध देखिन्थे ।
मन्त्री बिना खुनाका घर पुग्दा शहीदका आमा मञ्जु खुनाले पनि आँशु बगाउन थालिन् । सो क्रममा पनि मन्त्री मगरले उनलाई सहानुभूति व्यक्त गरिन् । गृह जिल्लामा भइरहेका बलात्कारलगायतका घटनाले आफू स्तब्ध भएको मन्त्री मगरले पत्रकारसित बताइन् ।
निर्मला हत्या काण्डमा सरकार गम्भीर रहेको बताउँदै उहाँले दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाइन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय प्रशासनलाई समेत आफूले अपराध नियन्त्रण र समाजको सुरक्षामा केन्द्रीत हुन निर्देशन दिएको बताइन् ।
आज बिहान जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले निर्मला हत्याकाण्डको अनुसन्धानलगायतका विषयमा मन्त्री मगरलाई जानकारी गराएका थिए । निर्मला पन्तका परिवार र शहीद सनी खुनाका परिवारलाई भेट्न मन्त्री मगरसँगै प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्ट, प्रदेश नं ७ का प्रदेशसभा सदस्य प्रकाश रावल र मानबहादुर सुनारको समेत सहभागिता रहेको थियो ।