काठमाडौँ, १९ भदौ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीले नेपाल र नेपाली जनताप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) ले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, “कर्मचारीले पार्टीप्रति होइन, मुलुक र मुलुकवासीप्रति प्रतिबद्ध भएर काम गर्नुपर्छ भन्ने मान्यता काङ्ग्रेसको छ ।”
सभापति देउवाले वर्तमान सरकारले कर्मचारी संयन्त्रलाई पार्टीप्रति प्रतिबद्ध कर्मचारीतन्त्र बनाउन खोजिएको आरोप लगाउँदै पछिल्लो समयमा कर्मचारी संयन्त्र, न्यायालय र प्रहरी प्रशासनलगायत क्षेत्रमा बढ्दै गएको राजनीतिक हस्तक्षेपप्रति दुःख व्यक्त गरे ।
काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको काम तथा व्यवहारवाट जनता निराश हुन थालेको बताउँदै प्रेस, व्यापारी, प्रशासन र न्यायालयमा हस्तक्षेप बढ्नु मुलुक र लोकतन्त्रका लागि राम्रो नहुने बताए ।
काङ्ग्रेसका नेता एंव पूर्वमन्त्री शंकर भण्डारी र नेतृ कमला पन्तले सङ्घीयता नेपालमा पहिलोपटक लागू भएकाले केही समस्या देखिएपनि पनि कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।