काठमाडौँ, २ असोज । साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग इन्डोनेसियामा भएको १८औं एशियाली खेलकूदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको बीमा गरेको थियो ।

स्व नारायण पनि एशियाडका लागि छनोट भएका खेलाडी थिए । उनको एशियाडमा सहभागी हुनुपूर्व गत जेठ ३० गते श्रीलङ्काको कोदामामा रम्बल इन जङ्गल–२०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र एनएलजीका विभागीय प्रमुख अनिल गौतमले स्व नारायणकी आमा मैया महर्जन श्रेष्ठलाई बीमावापतको रु सात लाख हस्तान्तराण गरे ।

राखेपले एनएलजीसँग गत जेठ २४ गते इन्डोनेसिया एसियाडमा सहभागी हुने सम्पूर्ण नेपाली खेलाडीको एक वर्षका लागि बीमा गरेको थियो । यसअघि राखेपले एनएलजीसँगै भारतमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी खेलाडी र पदाधिकारीको समेत बीमा गरेको थियो ।

गत जेठ ३० गते मृत्यु भएपनि विभिन्न कानूनी प्रक्रिया पूरा गर्दा असार ७ गतेमात्र नारायणको पार्थिव शरीर काठमाडौँ ल्याइएको थियो । ३३ वर्षको उमेरमा मृत्यु भएका नारायणले आफ्नो १२ वर्षको खेल करियरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको नेपाल साइक्लिङ सङ्घले जनाएको छ ।

सो अवसरमा सदस्य–सचिव विष्टले खेलाडी नारायणको दुःखद् निधन खेलकूदका लागि पीडादायी दिन भएको बताउँदै परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरे ।

यसैगरी सोही बीमा रकम हस्तान्तरण कार्यक्रममा नेपाल साइक्लिङ सङ्घले स्व। नारायणका परिवारलाई रु एक लाख २५ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । सङ्घका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले स्व नारायणकी आमा श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।