काठमाडौं २३ असोज । कहिले डाेल्पा, कहिले रोल्पा त कहिले कहाँ चर्चा हुँदै आएको नेकपा नेता वामदेव गौतमलाई चुनाव लडाउने निर्वाचन क्षेत्र अहिले आएर भने काठमाडौं चर्चामा आउन थालेको छ ।

नेकपाको सोमबारको सचिवालय बैठकमा गौतमलाई सांसद बनाउनका लागि काठमाडौंं क्षेत्र नम्बर ७ खाली गराउने विषयले प्रवेश पाएको हो । नेकपामा उनी जस्तै अन्य नेताहरु पनि निर्वाचनमा पराजित बनेर बाहिरै छन् । तर, गौतमको नाम पटक पटक अाउने गरेको छ ।

कान्तिपुरले स्रोतलाई उदृत गर्दै लेखेको समाचार अनुसार प्रधानमन्त्री तथा अध्यक्ष केपी केपी शर्मा ओलीले काठमाडौं ७ क्षेत्रका सांसद रामवीर मानन्धर आफ्नो पद छोड्नका लागि सकारात्मक रहेको जानकारी बैठकलाई गराएका थिए ।

सेतोपाटीका अनुसार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू, वामदेव र ७ क्षेत्र नम्बरका सांसद रामवीर मानन्धरबीच बैठक बसेर सहमति भइसकेको पनि सचिवालयमा जानकारी गराएका थिए ।

यसरी हेर्दा अध्यक्षद्धयले गौतमलाई उप निर्वाचनमार्फत सांसद बनाउन खोजेका छन् । सचिवालय बैठकमा भने वर्तमान रक्षामन्त्री ईश्वर पोखरेलले त्यस कुरालाई सहमति जनाउन सकेनन् ।

नेकपाका सचिवालय सदस्य समेत रहेका रक्षामन्त्री पोखरेलले गौतमलाई सांसद बनाउन उप निर्वाचन गराउने प्रस्तावमा विरोध गरेका थिए ।

गौतम प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सय ५३ मत अन्तरले पराजित भएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।