काठमाडौं असोज । नेपालले आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’ को उपाधि उचालेको छ ।
समूह चरणमा कुनै पनि हार नबेहोरेको नेपालले छनोटको अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिष्पर्धामा वर्षाका कारण खेल रद्द भएपछि रन रेटका आधारमा उपाधि जितेको हो ।
सिङ्गापुरले दिएको ८२ रनको लक्ष्यका साथ मैदान उत्रेको नेपालले मात्र तीन बल खेलेर एक विकेट गुमाउँदै एक रन बनाउँदा पानी परेर खेल रद्द भएको थियो ।
सिङ्गापुर र नेपालको समान ६ खेलबाट समान ११/११ अङ्क भए पनि नेपाल रन रेटका आधारमा अघि भएपछि उपाधि जितेको हो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले असोज १७ मा म्यान्मालाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले दोस्रो खेल २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भूटान तथा २४ गते चीनलाई पराजित गरेको थियो ।
अब एशिया छनोटमा ६ टोलीले खेल्नेछन् । यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोल गरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । ६ टोलीबीचको प्रतिष्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् ।
अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।