सुर्खेत, ९ कात्तिक । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नयाँ संरचनामा काम गर्नुपरेकाले परिणाम देखिन केही समय लागेको बताएका छन् ।

नेपाल पे्रस सङ्गठनद्वारा शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारले बनिबनाउ संयन्त्रमा काम गर्नुपर्ने अवस्था नरहेकाले जनताले सात महीनाकै अवधिमा परिणाम देख्न नपाएको बताए ।

“राज्यको पुनःसंरचनासँगै तीनै तहका सरकार सञ्चालन भएको विशिष्ट अवस्था हो”, मन्त्री बस्नेतले भने, “यस अवधिमा सरकारले आन्तरिक तयारीका सबै काम टुङ्ग्याउन लागेको छ, सरकार आफ्नो उद्देश्य र प्रतिबद्धतादेखि विचलित भएको छैन ।” उनले कानूनको मस्यौदा र प्रशासनिक पुनःसंरचनाको काम अन्तिम चरणमा पुगेको बताए । प्रदेश सरकारले अब हात फुकाएर काम गर्नुपर्ने अवस्था आउन लागेको उनको भनाइ थियो । “कतिपय काम शुरु पनि भइसकेका छन्, यसप्रति केन्द्र सरकार चिन्तित छ”, उनले भने ।

मन्त्री बस्नेतले केन्द्रले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नचाहेको आरोप सही नभएको टिप्पणी गरे । उनले भने, “सबैजसो मन्त्रालयले प्रदेश सरकारलाई आफ्ना संरचना हस्तान्तरण गरिसकेका र केहीका कानूनी जटिलताका कारण मात्र बाँकी रहेका छन्, ती पनि छिट्टै हस्तान्तरण हुन्छन् ।”

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।