काठमाडौं २६ मंसिर । नेपाल प्रहरीले सामूहिक बलात्कारको आरोप लागेर भाग्दै आएका दुई जनालाई एक वर्षपछि पक्राउ गरेको छ । प्रहरीले ललितपुर गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका फरार तीन मध्ये दुई अभियुक्तलाई पक्राउ गरेको हो । गत वर्षको २ मंसिरमा भएको घटनाका अभियुक्तलाई महानगरीय अपराध महाशाखाले बुधबार ललितपुर गोदावरी नगरपालिका १ गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र पवन कुँवरलाई पक्राउ गरेको हो ।
महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले अभियुक्त दुई जनालाई गोदावरीबाट पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए । उनका अनुसार सामूहिक बलात्कार घटनाका अर्का अभियुक्त रघु सिलवाल भने अझै फरार रहेको र उनको खोजी भइरहेको छ । गत वर्ष ललितपुर गोदावरी–१ गोदामचौरकी २२ वर्षीया विवाहित युवती सामूहिक बलात्कारमा परेकी थिइन् ।
युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा सुरूमा तीनै जना पक्राउ परेका थिए । जिल्ला अदालत ललितपुरले २६ पुसमा पर्याप्त प्रमाण नभेटिएको साधारण तारेखमा छोडेको थियो ।
२०७४ माघ २५ गते उच्च अदालत पाटनले मुद्दा उल्टाएसँगै उनीहरू फरार थिए । जिल्ला अदालतको आदेश ‘बेरित’ को ठहर गर्दै उच्च अदालतले पीडकहरूलाई थुनामा राख्ने आदेश दिएको थियो ।