काठमाडौं १ पुस । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीभित्र अहिले दुई अध्यक्ष छन्– एक केपी शर्मा ओली अर्का पुष्पकमल दाहाल प्रचण्ड ।
दुई अध्यक्षका कारण पार्टीमा कुनै निर्णय गर्न पर्दा दुवैको समय अभाव नमिलेर बैठक लम्बिने र तन्किने सामान्य जस्तै बनिरहेको छ ।
ओली प्रधानमन्त्रीको समेत पदमा छन् । अहिले ओलीले दुईतिरको जिम्मेवारी लिँदा सरकारको काम प्रभावकारी हुन नसकेको त हैन भनेर प्रश्न उठ्न थालेको छ ।
राजधानीमा शनिबारदेखि सुरु भएको पार्टी सचिवालय बैठकमा नेता बामदेव गौतमले त फरक विचार राख्दै प्रचण्डलाई एक्लो अध्यक्ष बनाउनुपर्ने विचार नै अघि सारेका छन् ।
गौतमले ओलीले प्रभावकारी रुपमा सरकार सञ्चालन गर्नुपर्ने र पार्टी कामको एकल नेतृत्व प्रचण्डलाई दिन माग गरेका छन् ।
१६ पृष्ठको छुट्टै प्रतिवेदनमा प्रधानमन्त्रीले पार्टी कामको पनि जिम्मेवारी लिँदा त्यो भूमिका सफलतापूर्वक निर्वाह गर्न नसकेको उल्लेख गरेका छन् ।
त्यसैले अर्का अध्यक्षले पार्टी सञ्चालनमा बढी ध्यान दिने गरी ‘एक व्यक्ति एक जिम्मेवारी’ को अवधारणा लागू गर्नुपर्ने उनले जनाएका छन् ।