काठमाडौं १ पुस । भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेपछि पहिचान गर्न नेपाल सरकार लागेको छ ।
गृह मन्त्रालयले भारतस्थित नेपाली दुतावाससँग समन्वय गरेर भारतको पश्चिम बंगालमा फेला परेको सुन त्रिभुवन विमानस्थलबाट हराएको हो कि हैन भन्ने पुष्टि गर्न लागि परेको हो । अहिलेसम्म उक्त सुन अन्तैबाट तस्करी भएर आएको हो वा त्रिभुवन विमानस्थलमा हराएको नै हो भन्ने पुष्टि हुन सकेको छैन ।
भारतको डाइरेक्टटोरेट रेभिन्यु इन्टेलिजेन्स ब्युरोले २१ मंसिरमा राकेश प्रसाद र हेमप्रसाद शर्मा ३३ किलो सुन फेला पारेको थियो ।
ब्युरोले दिल्ली–कोलकात्ता राजमार्गस्थित दनकुनी प्लाजाबाट मारुती स्विफ्ड गाडी नियन्त्रण लिएर चेकजाँच गर्दा सुन बरामद भएको थियो ।
भारतीय पक्षले नेपाली दुई जनाको साथबाट सुनका ३३ बिस्कुट फेला पारेपछि सुन नेपालबाटै भित्रिएको आशंकासहित भारतस्थित नेपाली दूतावासमा खबर गरेको थियो । भारतीय पक्षले नेपाली पक्षलाई खबर गरेपछि सुन पक्राउ काण्ड सार्वजनिक भएको हो ।
भारतमा फेला परेको सो सुन, सुन तस्कर चूडामणि उप्रेती ‘गोरे’ को समूहले गत माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको भनिएको नै हुन सक्ने गृह मन्त्रालयले अनुमान गरेको छ ।