आईपिओ भन्दा पनि सस्तो मूल्यमै पाइने यस्ता छन् सेयर

काठमाडौं १ पुस । सेयर बजार कहिले घट्ने त कहिले बढ्नु सामान्य नै हो । केही महिनादेखि ओरालो लाग्दै आएको सेयर पछिल्ला दुई दिन यता भने हरियो देखिएको छ । तर, सेयर बजारमा अहिले केही यस्ता कम्पनी पनि छन् जुन आईपिओ मूल्यका सेयर भन्दा पनि धेरै सस्ता त केही कम्पनी आईपिओ बराबरकै मूल्यमा बिक्री भइरहेका छन् ।
सस्तोमा सेयर उठाउने चाहनेका लागि यो एक मौका पनि हुनसक्छ । तर, सस्तो मूल्यमा पाइयो भन्दैमा सेयर उठाउनुमा उति नै जोखिम समेत हुने सेयर बजारका पण्डितहरु बताउँछन् । उनीहरुको भनाई मान्ने हो भने सस्तोमा पाइने कम्पनी छान्नु भन्दा राम्रो कम्पनीको राम्रो क्यास÷बोनश बाड्ने कम्पनी छान्नु उचित हो ।
तर, कतिपय लगानीकर्ता भने जोखिम मोलेरै सस्तो सेयर उठाउने खालका पनि हुने गर्दछन् । उनीहरुका लागि भने आईपिओ भन्दा सस्तो मूल्यमा सेयर पाउनु खुसीको कुरा पनि हुन सक्छ ।
नेशनल हाइड्रो पावरको मूल्य अहिले ७० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । जेबिल्स फाइनान्स पनि सेयर ९८ मा कारोबार भइरहेको छ । अरुण भ्याली हाइड्रोको १०९, कुनै बेला २०६ सम्म पुगेको बरुण हाइड्रोपावरको सेयर रु ११३, सेन्ट्रल फाइनान्सको ११०, छ्याङ्गी हाइड्रो १०५ मा कारोबार भइरहेको छ ।
विभिन्न बैंकहरुले सञ्चालन गरेको फण्डहरुको मूल्य पनि अहिले आइपिओ मूल्य भन्दा धेरै सस्तोमा कारोबार भइरहेको छ । फण्डहरुको प्रति कित्ता मूल्य १० रुपैयाँ हुने गरेकोमा लक्ष्मी इक्विटी फण्ड ७.८५, नबिल इक्विटी ८.०८, एनआइसी एसिया ग्रोथ फन्ड ८.८५, एनएमबी हाइब्रिड फन्ड वान ८.८० र सिद्धार्थ इक्विटी ८.८० को हाराहारीमा कारोबार भइरहेको छ ।
सेयर सम्बन्धी धेरै जानकार नहुनेहरुका लागि भने फण्डमा लगानी गर्नु उपयुक्त हुने मानिन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।