उर्लाबारी, २१ पुस । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिएका छन् ।

पार्टीको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले वाइडबडी विमान प्रकरणमा जुनसकै पार्टीको भए पनि कारवाही हुनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पारे ।

सरकारले छुट्टै छानविन समिति बनाएर घटनालाई लुकाउने शङ्का उत्पन्न भएको बताउदै उनले भने, “घटनामा संलग्न जोसुकै भए पनि काङ्ग्रेसले छाड्दैन”, सभापति देउवाले जनताको इच्छा र चाहनाअनुसार काम गर्न नसकेका कारण सरकार विभिन्न विवादमा फस्दै गएको आरोप लगाए ।

उनले सरकारले शिक्षा, सञ्चार, प्रहरी सङ्गठनलगायतका क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसका विरुद्ध काङ्ग्रेसले अब देशभर आन्दोलन शुरु गर्ने बताए । सभापति सरकारले कर बढाएर उद्योगी व्यापारीलाई दुःख दिएको बताए ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य डा शेखर कोइराला डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा डिला सङ्ग्रौला र अमृत अर्यालले आगामी निर्वाचनमा काङ्ग्रेसलाई बहुमत जिताउन अहिलेदेखि नै सबै कार्यकर्ता एकजुट भए लागिपर्नुपर्नेमा जोड दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।