फागुन ५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशील कोइरालासँग शनिबार भएको ‘गोप्य सहमति’ आफ्नै पार्टीका शीर्ष नेतासँग लुकाएको खबर राजधानी दैनिकले छापेको छ ।

शनिबार कोइरालासँगको भेटवार्तापछि आइतबार बिहानै बोलाइएको पार्टी केन्द्रीय कार्यालय बैठकमा दाहालले भेटमा भएको सम्पूर्ण विवरण लुकाएका हुन् ।

स्रोतका अनुसार अध्यक्ष दाहालले प्रधानमन्त्री कोइरालालाई गृहमन्त्री विवादमा एमालेले कांग्रेसलाई साथ नदिए आफूहरूले निःर्सत सरकारबाहिरै बसेर समर्थन गर्ने सहमति गरेका थिए । एमाओवादीभित्र सरकारमा सहभागी नभई संविधान निर्माणमा पार्टीको सम्पूर्ण ध्यान लगाउने विषयमा नेताहरूबीच मतभेद नभए पनि कांग्रेस नेतृत्वको सरकारलाई निःसर्त सहयोग गर्ने र नगर्ने विषयमा विवाद छ ।

केन्द्रीय कार्यालय टिमभित्रै अध्यक्ष दाहाल र नेता पोष्टबहादुर बोगटी कोइराला नेतृत्वको सरकारलाई संकटको घडीमा आवश्यक परे निःसर्त सहयोग गर्न तयार देखिएका छन् । तर, नेताद्वय डा। बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ निःसर्त सहयोग गर्न नसकिने अडानमा छन् ।

शनिबार दाहालले कोइरालालाई आफूरूको ध्यान संविधान निर्माणमै भए पनि एमालेले साथ नदिएमा सरकारबाहिरै बसेर सहयोग गर्ने बचन दिएका थिए। दाहालले कोइरालासँग संविधानसभा अध्यक्षमा आफूलाई सहयोग गरे कांग्रेस नेतृत्वको सरकारलाई साथ दिने वचन दिएका हुन्।

‘प्रधानमन्त्री कोइरालाले एमालेलाई गहृमन्त्री दिनै नसकिने कुरा गर्नुभयो, त्यही विषयका कारण ऊसँगको सहकार्य हुन नसक्ने भयो, तपाईंहरूको सहयोग चाहियो भन्नुभयो । मैले कांग्रेस–एमालेबीच नै सहमति गरेर सरकार बनाउनुहोस्, अप्ठ्यारै परे एमाओवादी सहयोग गर्न तयार छ भन्ने कुरा राखें,’ केन्द्रीय कार्यालय बैठकमा दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । कोइराला र दाहालबीच शनिबार एकल वार्ता भएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।