काठमाडौं । चालु सिजनको हिमाल आरोहणका क्रममा हालसम्म सगरमाथा, ल्होत्से, मकालु र कञ्चनजंघामा ६ विदेशी आरोहीको मृत्यु भएको छ भने तीन विदेशी हराइरहेका छन् । पर्यटन विभागले यस सिजनमा आरोहण सुरु नहुँदै भएको मानवीय क्षति अघिल्ला वर्षका दाँजोमा बढेको जनाएको छ ।

विभागका एक अधिकारीले आरोहीहरूको मृत्यु हुनु र हराउनुको यकिन जानकारी भने अझै सम्पर्क अधिकृतहरूमार्फत प्राप्त भइनसकेको बताए ।

पर्यटन विभागका अनुसार विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहण क्रममा गत बुधबार भारतीय आरोहीहरू पश्चिम बंगालको कोलकाताका ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुंतल करारको मृत्यु भएको थियो । काठमाडौंस्थित पिक प्रमोसन प्रालिको व्यवस्थापनमा त्यसतर्फ गएका उनीहरूको शव आइतबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको निर्देशक पासाङ शेर्पाले बताए ।

विभागले दुवै शवमा अत्यधिक हिमपातको असर रहेकाले मंगलबारमात्रै पोस्टमार्टम हुने जनाएको छ । पिक प्रमोसनमार्फत नै आरोहणमा गएका दक्षिण अमेरिकी मुलुक चिलीका रोड्रिगो भिभ्यान्को अझै हराइरहेका छन् । निर्देशक शेर्पाले आइतबारसम्म पनि उनको शव फेला नपरेको बताए ।, कान्तिपुर दैनिकले समाचार छापेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।