काठमाडौं । के तपाई दशैं तिहारका लागि बसको टिकट बुकिङ गर्ने तयारीमा हुनुहुन्छ ? त्यसो भए हतार नगर्नुहोस्, कहिले टिकट खुलाउने भन्ने आगामी साता मात्र टुंगो लाग्ने भएको छ ।

त्यो पनि भाडा बढ्ने नबढ्ने लगायतका विषय अझै टुंगो लाग्न सकेको छैन भने कसरी खुलाउने भन्नेमा पनि अन्यौलता छ । व्यवसायीले यातायात समिति खारेजी पछि नयाँ बस नथपिएकोले व्यवस्थापन गर्न कठिन भएको जनाउँदै भाडा बढाउन पनि माग गरेका छन् ।

यसै विषयमा बुधबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघबीच छलफल भएको थियो । दुई पक्षीय छलफलमा सबै तयारी पूरा गरी अर्को हप्ता अग्रिम टिकट बुकिङ खुलाउने मिति तय गर्ने समझदारी भने भएको छ ।

विभागका महानिर्देशक गोगन बहादुर हमालले दशैंको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल भएको र अर्को हप्ता पुनः बैठक बसेर मिति तय गरिने बताए ।
महासंघका महासचिव सरद सिटौलाले विभागका महानिर्देशकले आह्वान गरेको बैठकमा दशैं टिकटका विषयमा छलफल भएको र आन्तरिक छलफल गर्नुपर्ने भएकाले अर्को हप्ता पुनः बैठक बसेर टुंगो लगाउने बताए ।

महासचिव सिटौलाले अघिल्लो वर्ष कति यात्रुले टिकट काटेको भन्ने लगायतका सबै तथ्यांक संकलन गरेर के कति बस आवश्यक पर्ने र त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा आन्तरिक तयारी गरिने बताएका छन् ।

दशैंमा लाखौं जना उपत्यकाबाट बाहिरिने गर्दछन् । गत वर्ष मात्र घटस्थापनाका दिन एक लाख ३० हजार, असोज २४ गते एक लाख ४४ हजार र असोज २५ गते एक लाख १० हजार यात्रु बाहिरिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।