काठमाडौं । पछिल्ला दिनमा डेङ्गुको प्रकोप ह्वात्तै फैलिएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल समेत डेङ्गु रोगबाट सङ्क्रमित भई ग्राण्डी अस्पताल भर्ना भएका छन् ।

मङ्गलबार राति एक्कासि ज्वारो आएपछि उपचारका लागि पुल्चोकस्थित बुधबार बिहान पुल्चोकस्थित निदान अस्पताल गएका थिए । उपचारका क्रममा रगत परीक्षण गर्दा सो रोग प्रमाणित भएको मन्त्री खनालका सञ्चार विज्ञ बोमलाल गिरीले जानकारी दिए । टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा रगत परीक्षण गरिएको थियो ।

सरुवा रोग अस्पतालमा श्ययाको अभाव भएपछि निदान अस्पतालबाट ग्राण्डी अस्पतालमा मन्त्री खनालको थप उपचार भइरहेको जनाइएको छ । विज्ञ गिरीले भने, “टेकु अस्पतालमा श्यया अभाव भएपछि ग्राण्डी अस्पतालमा मन्त्री खनालको उपचार भइराखेको हो, उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।”

मङ्गलबार दिउँसो मन्त्रालयको काममा व्यस्त हुँदा मन्त्री खनालले असजिलो महसुस गरेका थिए । सोही दिन उनी मन्त्रालयको तीनवटा औपचारिक कार्यक्रम तथा बैठकमा सहभागी भएको सञ्चार विज्ञ गिरीले बताए । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र डेङ्गु रोगको उच्च जोखिम देखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।