काठमाडौं । एक जना जनप्रतिनिधिले नै आत्महत्याको प्रयास गरेका छन् । यसरी आत्महत्याको प्रयास गर्ने व्यक्ति बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपाल हुन् ।
उनले वडा नं. २ पुरानो बुटवल बजारस्थित आफ्नै घरमा बिहान ९ बजे सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् । कोठाको ढोका बन्द गरी सिलिङ पंखामा झुण्डिएको अवस्थामा आमाले देखेपछि छिमेकीलाई खबर गरी घाँटीको डोरी काटेर अस्पताल पुर्याएको बताइएको छ भने भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
घटनापछि भैरहवा मेडिकल कलेजमै रहेका बुटवल वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले नेपालको अवस्था गम्भीर रहेको बताएका छन् ।
नेपाल मणिमुकुन्द सेन उद्यान बुटवल फुलबारीको महासचिव हुन् । केही समय अगाडि फुलबारीस्थित चिडियाखानामा रहेको चितुवाको खोरमा काठ भेटिएको विषयलाई लिएर उद्यानका पदाधिकारीहरूविरूद्ध मुद्दा परेको थियो । घरायसी कारण वा मणिमुकुन्द सेन उद्यान बुटवल फुलबारीको विषयमा परेको मुद्दाको विषयमा उनी चिन्तित रहँदै आएको बताइएको छ ।