काठमाडौं । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यो सरकार अरु सरकार जस्तो ढटुवा सरकार नभएको बताएका छन् । उनले गत वर्ष बनाइएका योजनाअनुरुप यस वर्ष क्रमैसँग ठूला–ठूला योजना कार्यान्वयन हुँदै गएको र केही योजनाको प्रतिफल यसै वर्ष पनि देखिने बताए ।
“हामी जे बोल्छौँ, त्यही गर्छौैं, हामीलाई कसैको आलोचनाले हाम्रो महाअभियानमा फरक पर्दैन”, उनले भने । बास्कोटाले सरकारको सङ्कल्प ‘विकासदेखि विकाससम्म’ मात्रै भएको उल्लेख गर्दै सरकारको कामप्रति उत्साहजनक प्रतिक्रिया आइरहेको बताए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका उनले कुनै पनि देश एकैपटक, एकै वर्षमा नबनेको उल्लेख गर्दै सरकारले छोटो समयमा हालै मात्र योजना सम्पन्न भएको उदाहरण ‘पाइपलाइन तेल’ आयातलाई लिन आग्रह गरे ।
मन्त्री बाँस्कोटाले वर्तमान सरकारले विकास निर्माणका क्षेत्रमा जनताले औँला ठड्याउने अवस्था सिर्जना नगर्ने दाबी गरे । उनले भने, “सरकारको महाअभियानमा तपाईहरुको पनि साथ चाहिन्छ, सरकार विकास निर्माणमा थाक्दैन र आराम पनि गर्दैन ।”