चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको परिवर्तनको रक्षा नेकपाले बाहेक अरूले गर्न नसक्ने बताइका छन् । नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालका पिता स्व कुलप्रसाद दाहालको नवौँ दिनमा बुधबार उनकै निवास भीमसेननगरमा नेकपा चितवनले आयोजना गरेको शोकसभामा प्रवक्ता श्रेष्ठले देशमा सङ्घीयता र गणतन्त्र कम्युनिष्ट आन्दोलनको बलमा आएको बताए ।
यो परिवर्तनको रक्षा र समृद्धिको यात्रा कम्युनिष्टले बाहेक अरूले गर्न नसक्ने उनको भनाइ थियो । अहिलेको परिवर्तनलाई उल्टाउन केही शक्ति लागिपरिरहेको भन्दै उनले त्यस्ता सोच पूरा हुन नसक्ने बताए । उउनले भने, “पहिला शक्तिमा रहेर शासन गरेकाहरु शक्तिबाट च्यूत भएपछि फेरि शक्तिमा बस्न पाए हुन्थ्यो भन्दै चलखेल शुरु गरेका छन् तर कसैले चाहेर परिवर्तन उल्टिदैन ।” पार्टीभित्रको आन्तरिक विषयलाई आत्मसमीक्षा गर्दै सङ्घीयता कार्यान्वयनलाई केन्द्रविदुमा राखेर काम गर्न आवश्यक रहेको उनले बताए ।
नेकपाका पोलिटब्यूरो सदस्य अग्नि सापकोटाले कम्युनिष्टका मूल्यमान्यता डगमगाउने समयमा दाहालको निधनले फेरि एक ठाउँमा उभिएर सोच्न बाध्य बनाएको बताए । उनले भने, “स्व दाहाल अध्यक्ष प्रचण्डका मात्रै गुरु नभएर सबैका गुरु हुनुहुन्थ्यो । उहाँको सम्मानका लागि देशलाई समृद्ध बनाउन आवश्यक छ ।”
नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले बुबाको प्रेरणाका कारण देशमा आमूल परिवर्तनको नेतृत्व गर्न सकेको बताए ।




