काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासहितका कांग्रेस नेता तथा सांसद ठूलो दुर्घटनाबाट जोगिएको पाइएको छ । यतिसम्म की उनीहरु भाग्यले बाँचेका हुन् भन्दा फरक नपर्ने देखिन्छ ।
महामन्त्री कोइरालासहितका कांग्रेस नेता सवार हेली मौसम खराबीका कारण झण्डै दुर्घटनामा परेका थिए । कांग्रेसको जनजागरण अभियानको अन्तिम दिन महामन्त्री कोइराला, खोटाङ निवासी सांसद हिरा गुरुङ लगायत नेता खोटाङको दिक्तेल पुगेका थिए । ७ असोजका दिन कार्यक्रम सकिएपछि उनीहरु हलेसी आए । खाना नास्ता पनि गरे ।
त्यसपछि काठमाडौं फर्कने कुरो भयो । घडीको सुईले दुई बजाउन लागेको थियो । अबेर पनि भएको थियो त्यस्तैमा गाडीबाटै फर्कन तयार रहेका उनीहरुले सडक बाटो बिग्रिएको खबर पाएपछि हेलीबाट काठमाडौं फर्कने योजना बनाए ।
उनीहरु हेली त चढे तर त्यसको केही क्षणमै नदी किनारमा आकस्मिक अवतरण गर्नुपर्यो । त्यो पनि एक पटक नभएर दुई पटक अवतरण गर्नु परेको थियो भने पानी र कुहिरोले हेली लामो समय आकाशमा अलमलिएको बताइएको छ ।
हलेसीबाट २ः३० मा उडेको हेली हलेसी नगरपालिकाको तल्लो भाग र ओखलढुंगाको हिलेपानी भन्दा मुनी दुधकोसी किनारमा आकस्मिक अवतरण गर्नु परेको थियो । त्यहाँ करिब एक घण्टा बसेपछि पुनः उडेको हेलीले रामेछापको रुट पहिल्याए पनि पानी र कुइरोका कारण हेली फेरि लिकु दोभानमा आकस्मिक अवतरण गरेको थियो । झण्डै दुई घण्टापछि भने हेली कोसीको किनारै किनार भएर रामेछाप पुगेको थियो । ‘सडक ठाउँ ठाउँमा बिग्रिएको जानकारी पछि हामी हेलीबाट काठमाडौं फर्कन खोजेका थियौं, मौसमले साथ नदिँदा आकस्मिक अवतरण गर्नुपर्यो’ सांसद गुरुङले भनिन्, ‘भाग्यले नै बाँचियो भन्नुपर्यो ।’
कांग्रेस नेताहरुले पनि सडकको दुरावस्थाका कारण नै हेली रोज्नुपरेको बताएका छन् । मुख्यतयाः गुणस्तरहिन कामका कारण अहिले देशैभरको सडक बिग्रिएको छ भने वर्षाको पानीले जताततैका सडक खाल्डाखुल्डी परेका छन् । सरकारले सडकको मर्मत सम्भारमा उचित ध्यान दिन सकेको छैन । सडक निर्माण ढिलासुस्ती र गुणस्तरहिन सडककै कारण खोटाङमा कोही बिरामी परेमा काठमाडौं ल्याउन हेली चार्टर गर्नुपर्ने अवस्था छ ।