काठमाडौं । बलात्कार आरोपमा मुछिएका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनको राजीनामाको भाषा पढ्ने हो भने राजीनामा अनुसन्धान अवधीसम्मका लागि मात्र हो ।

राजीनामा पत्रमा उनले छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको व्यहोरा लेखेका छन् । त्यसबाट उनले अनुसन्धानमा सहयोग गर्न मात्र राजीनामा दिएको र अनुसन्धानबाट दोषी नदेखिएमा पुनः सभामुखमा फर्किने स्पष्ट बुझ्न सकिन्छ । उनका प्रेस सल्लाहकार डिल्ली मल्लले पनि सभामुख महरा पनि पदमा फर्किने बताएका छन् ।

संविधानको व्यवस्था अनुसार भने राजीनामा दिएपछि सभामुख पद स्वतः खारेज भएको मानिन्छ । संविधानको धारा ९१ उपधारा ६ को (ख) मा सभामुखले लिखित राजीनामा दिए पदमुक्त हुने व्यवस्था छ ।

महराको भाषाबाट भने दोहोरो अर्थ लाग्ने देखिन्छ । महरामाथि आरोप लगाउने महिलाले महराले दुर्व्यवहार नगरेको, महरा बुबा समानको मान्छे भएको र प्रहरीमा उजुरी पनि नदिएपछि महरा कानुनी रुपमा दोषी देखिने आधार सकिएको छ । त्यसैले अब महरा शक्तिशाली भएमा वा पार्टीले उनलाई साथ दिएमा उनको पद जोगिने देखिन्छ । तर, सामाजिक रुपमा नैतिक प्रश्न चिह्न खडा भएको भन्दै पार्टीले साथ नदिएमा उनको सभामुख पद स्वतः गुम्ने देखिएको छ ।

महराले सभामुख भन्दा पनि पार्टीको नेता जस्तो भएर प्रतिनिधिसभा बैठक चलाएको भनेर विपक्षी दल उनीप्रति रुष्ट छन् । उनकै पार्टीभित्र पनि उनलाई हटाएर सभामुख हत्याउन लाग्ने समूह दह्रो रहेको पाइन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।