काठमाडौं । अबको नयाँ सभामुख देव गुरुङ बन्न सक्ने देखिएको छ । तत्कालिन अवस्थामा सभामुख पद पूर्व माओवादी केन्द्रको भागमो परेको थियो । त्यसैको आधारमा यो पद माओवादीकै कुनै नेताको जाने निश्चित छ भने नेकपा संसदीय दलका प्रमुख सचेतक रहेका गुरुङ सभामुख हुने चर्चा निक्कै बढेर गएको छ । अन्य नेताहरुको पनि चर्चा भने नभएको हैन, तर संसदीय दलको प्रमुखको हैसियत र पूर्व कानुनमन्त्री समेत भएकोले उनको बढी चर्चा हुने गरेको हो ।
दु्ई पार्टी एक भईसकेकाले अब सभामुख नेकपाले लिए संविधानअनुसार उपसभामुख पद भने उसले छाड्नुपर्नेछ । कृष्णबहादुर महराको बहिर्गमनसँगै अहिले सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि पात्रको चर्चा बढेर गएको छ । यता, दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच हानाथाप समेत हुन थालेको छ ।
संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट चयन गरिनुपर्छ । हाल नेकपाकै शिवमाया तुम्बाहाङ्फे उपसभामुख छिन् । उनलाई राजीनामा गराएर भएपनि सभामुख पद जोगाउने रणनीतिमा नेकपा रहेको बुझिएको छ ।








