रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले नेपाली काँग्रेसकै कारण लोकतन्त्र संस्थागत हुन नसकेको आरोप लगाएका छन् । काँग्रेसको अलोकतान्त्रिक गतिविधिका कारण लोकतन्त्र संस्थागत नभएको बताउँदै उनले नेपालको लोकतन्त्र खतरामा परेको आरोप लगाए ।
दशै, दिपावली तथा छठ पर्वको अवसरमा शुक्रबार रौतहटको गुजरा नगरपालिका–९, सिमरा भवानीपुरमा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साहले कांग्रेसले मुलुकलाई प्रतिगमनतर्फ धकेल्न लोकतन्त्र संस्थागत हुन नदिएको बताए ।
पुर्वमन्त्री समेत रहेका सांसद साहले काँग्रेसले मुलुकले प्राप्त गरेको हरेक उपलब्धिलाई असफल पार्न उद्दत तत्व रहेको जीकिर गरे । ‘राजासंग काँग्रेसको घाँटी जोडिएकै कारण मुलुकमा लोकतन्त्र फस्टाउन सकेन । नेपालको ईतिहास हेर्नुहुन्छ भने जुनपनि उपलब्धि काँग्रेसकै गलत नीतिका कारण असफल हुँदै आएको छ’ उनले भने ।
‘प्राप्त उपलब्धिलाई संस्थागत गर्न लाग्नुको सट्टा काँंग्रेस जहिले पनि छेडछाड गर्दै प्रतिगमनमा पुरयाउँने गरेको छ’ साहले भने, ‘अहिले पनि त्यत्रो संविधानसभा मार्फत प्राप्त उपलब्धिलाई सफल कार्यान्वयनको सट्टा देशमा अराजकता मचाउनतिर उद्दत छ ।’ जनताले लडेर ल्याएको परिवर्तन र प्राप्त उपलब्धिमाथि गलत नियत राखेको कांग्रेसको आयु धेरै नभएको दावी उनले गरे ।
प्रदेशसभा सदस्य कुन्दन कुशवाहाले प्रदेश २ सरकारसंग मिलेर प्रतिपक्षी काँग्रेस पनि भ्रष्टाचारमा डुबेको आरोप लगाए । नेकपा प्रदेश सदस्यसमेत रहेका कुशवाहाले प्रदेश सरकारको कुनै पनि काम पारदर्शी नभएको र बजेटको दोहन मात्र भएको भन्दै त्यसविरुद्ध खडा हुनको साटो काँग्रेस झन सहायक बनेको भन्दै त्यसविरुद्ध लाग्न सबैमा उनले आग्रह गरे । कार्यक्रममा विकास निर्माणलगायतको विषयमा सांसद साह र स्थानीयबीच अन्तरक्रिया समेत भएको छ ।





