आजु शुभ दिन मङ्गल–मङ्गल गाउँ हे
जानकीक होएत विवाह जनकपुर आउ हे

मिथिलाको प्राचीन राजधानी जनकपुरधामको हरेक स्थानमा आजभोलि यस्तै रामायणकालीन मङ्गल गान सुनिन्छ । यही मङ्सिर १५ गते हुने गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नु भएअनुसारको सीताराम विवाह महोत्सवमा आम समुदायलाई सहभागी हुन निम्तो हो – मङ्गाल गान ।

जनकपुरमा राजा जनकद्वारा धनुष भङ्गको प्रस्ताव राख्नु, धनुष भङ्ग गर्नेसँग पुत्री सीताको विवाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा गुरू विश्वामित्रसँग जनकपुरधाम आई धनुष भङ्ग गरी सीतासँग स्वयमवर गर्नु आदि स्मृतिमा सीताराम विवाह महोत्सव यहाँ मनाइने चलन रहेको छ ।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयंवरमा विभिन्न देवी देवताको उपस्थिति रहेको थियो । यसै प्रसङ्गलाई विभिन्न पक्षद्वारा प्रतीकात्मक रूपमा देखाउनु नै सीताराम विवाह महोत्सवको विशेषता हो । सीतालाई छोरी, बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थिति हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विहेसम्म सहभागी हुन्छन् ।

यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईलगायत अन्य धर्मावलम्वीहरू पनि सामेल हुनेगरेका छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार गरिँदा त्रेतायुगको झलक यस कलियुगमा देख्न पाइन्छ । पौराणिक व्यवस्था अनुरूप राममन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमि पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि लगिने प्रचलन रहिआएको छ ।

रङ्गभूमिमा स्वयंवर सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ । जनकपुरधामका बारेमा मिथिला महात्म्यमा वर्णन गरिएअनुसार “जानकी जन्मभूम्यां यः प्राणत्याग करौति वे, न याति विष्णुपदवी पापराशिमतौ पि हि” अर्थात् जानकीको जन्मभूमिमा जसको देहत्याग हुन्छ, त्यो व्यक्ति सयौँ पापको भागी भएर पनि विष्णु लोक पुुग्नेछ । यही कारणले पनि जनकपुर नपुगेकाहरू जीवनमा एकपटक यहाँ आउन चाहन्छन् । यसका लागि सीताराम विवाह महोत्सवलाई सुवर्ण अवसरका रूपमा मानिएको छ ।

विवाह महोत्सवका अवसरमा निस्किने डोला शोभायात्रामा देशका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु पनि सहभागी हुने गर्छन् । रङ्गभूमिमा वर र कन्या पक्षबीच हुने गरेको हाँसोठट्टा, गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित श्रद्धालुको उत्साहमा यो महोत्सव वास्तविक विवाहभन्दा रमाइलो हुनेगर्छ । फूलबारी प्रसङ्गदेखि स्वयंवरसम्मको आयोजनाले महोत्सव दैवी विवाह महोत्सवका रूपमा रूपान्तरित भएको अनुभव गर्दै सहभागी मिथिलाका नारी तथा पुरूष आफूलाई धन्य सम्झन्छन् । यसैबीच महोत्सवको तयारी तीव्र बनाइएको छ । यसपटक अयोध्याबाट पनि भगवान् रामको प्रतीकात्मक जन्ती आउने भएकाले महोत्सवलाई भव्यता प्रदान गर्ने किसिमले तयारी भइरहेको मन्दिरका सहायक महन्त रामरोशन दास बताउछन् ।

दासका अनुसार यही मङ्सिर १३ गते अयोध्याबाट भगवान् रामको प्रतीकात्मक जन्ती जनकपुरधाम आउने र जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पूजा अर्चना र रङ्गभूमि (बाह्र विघा) मैदानमा जन्तीलाई स्वागत र सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
सीताराम विवाह महोत्सको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मङ्सिर १० गते जनकपुरधाम नगर दर्शन, ११ गते फूलबारी लीला, १२ गते धनुष यज्ञ, १३ गते अयोध्याबाट आएका जन्तीलाई स्वागत र तिलकोत्सव, १४ गते मटकोर, १५ गते स्वयंवर तथा शुभ विवाह र १६ गते राम कलेवा रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।