नेपाली अभिनेत्री ऋचा शर्मा वैबाहिक जीवनमा बाँधिएकी छन् । केही समयदेखि प्रेम सम्बन्धमा रहँदै आएकी उनले आफ्ना प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी हुन् ।
दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचा र दिपेक्षले शनिबारबाट विवाहमा परिणत गरेका हुन् । विवाह समारोहमा परिवारका सदस्यहरु र फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो । उनका श्रीमान् राजधानीको ललिपतुरस्थित लबिम मलका म्यानेजर हुन् । विवाह गर्नुभन्दा एक महिना अघि ऋचाले पोखरामा आफ्ना केही नजिकका साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् । उनको ब्याचलर पार्टीमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायतको सहभागिता रहेको थियो । उनले आफ्नो विवाह समारोहमा सहभागी हुने पाहुनालाई कुनै प्रकारको उपहार नल्याउन निमन्त्रणा कार्डमार्फत् आग्रह गरेकी थिइन् ।

बैबाहिक जीवनमा बाँधिनुभन्दा अगाडी फिल्म ‘हिजो आजका कुरा’ को छायांकन भ्याएकी ऋचा अहिले कमेडी शो ‘कमडी च्याम्पियन’ मा व्यस्त छिन् । दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमानको हात समातेको तस्विर साझेदार गर्दै फेसबुकमा लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आर्शिवाद सदैब यसरी नै मिलोस् ।’ तस्विरमा ऋचा र दिपेक्षलाई खुसी मुद्रा देख्न सकिन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।