काठमाडौं । देशको कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्रीको प्रचार तथा प्रेस सम्बन्धी जिम्मा पाएका मुख्य व्यक्तिले नै एकतामा असर पर्ने र अर्को समूहलाई होच्याउने गरी बालुवाटारभित्रैबाट स्टाटस लेखेपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्र नभएर तत्कालिन नेकपा माओवादी पक्ष आक्रोशित देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले अध्यक्ष प्रचण्डले एकता नगरेको भए पूर्व बिद्रोही नेता मात्र हुन्थे, पार्टी सानो भएपछि एकता रोजे भन्ने आशयको एउटा लेख सेयर गरेर माओवादी पक्षलाई होच्याउने काम गरेका हुन् । कान्तिपुरमा पत्रकार गंगा बिसीले लेखेको लेखको मुख्य आशय वाम एकता हुनु राम्रो हो, यो आवश्यकता थियो भन्ने देखिन्छ । उनको पूरै लेखमा एकताबारे सकरात्मक सञ्चार गरिएकाे छ । एक प्रसंगमा भने उनले ‘यदि प्रचण्डले पार्टीलाई एमालेसँग नमिलाएको भए के हुन्थ्यो ? एमाओवादी एउटा सानो पार्टीका रूपमा खुम्चिएको हुन्थ्यो । १० वर्ष युद्ध हाँकेका प्रचण्ड सानो पार्टीका नेता हुन्थे । सम्बोधन हुन्थ्यो, पूर्व विद्रोही नेता प्रचण्ड ।’ गंगा बिसीले यहीँ कुरालाई उठान गर्दै प्रचण्डले एकता गरेर वामगठबन्धनको दुई तिहाई मत आएको, स्थायित्व आएको लगायतमा जोड दिएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने माओवादी खुम्चिएर एमालेसँग एकता गर्न खोजेको भन्ने आशय जनाउने गरी लेख सेयर गरेका हुन् । एक माओवादी नेताका अनुसार उक्त लेखमा ९९ प्रतिशत राम्रो कुरा छ, अलिकति बिचको नराम्रो कुरोलाई नै उनले सेयर गर्नुले उनको असली नियत स्पष्ट भएको छ ।’ ती नेताले भने ।
उनका अनुसार प्रधानमन्त्री कार्यालयभित्रबाटै यस्तो हर्कत गर्ने व्यक्तिलाई प्रधानमन्त्रीले कारबाही गर्न ढिला गर्न हुन्न । उनी अघि थप्छन्– ‘सुर्य थापा जस्ता मान्छे सचिवालयमा बसीरहने हो भने प्रधानमन्त्रीको दिनदिनै बेइज्जती भइरहने छ ।’
थापाले यति स्टाटस मात्र लेखेनन् । उनको स्टाटसबारे टिप्पणी भएपछि माओवादीलाई उनले ढेंडुको संज्ञा समेत दिएका छन् । उनले भनेका छन्,– मेरो स्टाटस हो कि अरूको लेख शेयर गरेको भनेर छुट्याउन समेत नसक्ने मनुवा हुन् कि ढेंडु ? कति असभ्य र घृणित रहेछन् एउटा लेखसम्म पढ्न औकात र हैसियत नराख्ने स्यालहरूरु छि: छि: ! मान्छे बन्न कति गाह्रो परेको तिनलाई ?
थापाले यसअघि पनि माओवादीलाई पूर्वलडाका भन्दै सामाजिक सञ्जालबाट होच्याउने काम गरेका थिए भने लेख नै लेखेर १० वर्षे जनयुद्धले देश पछाडी धकेलिएको आरोप लगाउने गरेका थिए । पछिल्लो घटनाक्रमपछि उनको चर्को आलोचना हुँदै आएको छ । केही सामाजिक सञ्जालमा उनको विरुद्ध लेखिएका माओवादी नेता कार्यकर्ताको स्टाटस यस्ता छन् ।