पुस ३० । अमेरिकाको क्यालिफोर्नियाबाट सूचना संकलनका लागि उडाइएको एउटा बेलुन हुम्लाको उत्तरी क्षेत्रस्थित डाँडामा पुगेर अलपत्र परेको छ।

 शनिबार राति ८:४५ बजे हुम्ला पुगेको सेतो रङको अमेरिकी बेलुन नेपाल छिरेको जानकारी भारतका उड्डयन अधिकारीले नेपाली अधिकारीलाई दिएका थिए ।

इन्टरनेट सर्च इन्जिन गुगलले उत्तर-पश्चिम क्षेत्रतिर उडाएको कलसाइन ४४५३ भएको उक्त बेलुन नेपालमा त्यो पनि उत्तरी हुम्लामै आएर किन रोकियो भन्नेबारे नेपालका उड्डयन अधिकारी अनभिज्ञ रहेको खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

हल्का पारदर्शी हुने प्रविधिबाट निर्मित बेलुनभित्र कुनै मानव वा जीव नभएको सूचना नेपालले पाएको छ।

हुम्लाको सिमिकोट विमानस्थलदेखि २० किलोमिटर पूर्व र न्यारीचौरदेखि १० माइल उत्तरपूर्वमा रहेको रोडीकोट गाविसको डाँडामा बेलुन रोकिएको सूचनाका आधार खोजी गरिएको छ। ‘यसबारे हामीलाई गुगलले पनि क्यालिफोर्नियाबाट खबर गर्‍यो’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक दिनेश श्रेष्ठले सोमबार अन्नपूर्णसँग भने, ‘उक्त बेलुन किन उडाइएको थियो भन्ने जानकारी भने हामीलाई दिइएको छैन।’ 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।