पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन् । आज पत्रकारहरुसँग उनले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताए ।
प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गर्नुभएका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने, “मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।” सिङ्गै संसद्ले उहाँलाई स्वीकार गरिसकेको भन्दै उहाँले थप्नुभयो, “उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।”
दाहालको गृहजिल्ला चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताए । प्रहरी नायब उपरीक्षकले राम्रै काम गरिरहेको भन्दै दाहालले प्रश्न गरे, “यहाँ सुरक्षा खतरा पैदा भएको छ र ? मलाई त केही भएजस्तो लागेको छैन ।” प्रहरी प्रमुख को आउनुहुन्छ भन्ने कुरा सरकारले नै भन्ने उनले बताए ।





