काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा भएपश्चात् सदनमा प्रस्तुत हुने बताएका छन् । उनले एमसिसी सदनमा प्रस्तुत भएपछि त्यसमा भएका गलत प्रावधान परिमार्जन गरेर मात्र पारित हुने समेत बताएका छन् ।
एमसिसी सरकारले सदनबाटै पारित गर्नुपर्ने किन बाध्यता भन्ने विषयमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले अमेरिकी सिनेटले पारित गर्ने भएकोले नेपालको सदनबाट पारित गर्नुपर्ने भएको जनाए । नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित नहुने गरी यो सदनबाट पारित हुने उनको भनाइ थियो ।
उनले विप्लवलाई मूल प्रवाहमा ल्याउने काम जारी नै रहेको बताउँदै उनले सदनबाट प्रहरी विधेयक पारित भइसकेको र अब राष्ट्रपतिबाट प्रमाणीकरण हुन मात्र बाँकी रहेको जनाए । भारतले सार्वजनिक गरेको नयाँ नक्साका कारण उब्जिएको विवाद र त्यसबाट दक्षिणसँग बिग्रेको सम्बन्ध सुधार गर्न कूटनीतिक प्रयास भइरहेको उनले बताए ।
शान्ति र स्थायित्व बिना मुलुकमा विकास असम्भव भएको बताए । नेपाल सरकार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सुरक्षा गोष्ठीमा सहभागी हुन शुक्रबार सुर्खेत पुगेका गृहमन्त्री थापाले आयोजित पत्रकार सम्मेलनमा सरकारले आपराधिक नियन्त्रणलाई प्राथमिकता राखेको बताए ।
नेपाललाई आपराधिक अखडा बनाउँदै आएका चिनियाँ नागरिकलाई भर्खरै सरकारले पक्राउ गरेर देश निकाला गरेको जनाउँदै उनले सीमापारिका अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेको समेत जनाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।