काठमाडौं । सेक्युरिटी प्रेस खरिदमा कमिशन विवादमा नाम मुछिएपछि सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिईसकेका छन् । स्विस कम्पनी केबिए नोटासिसका एजेन्ट विजयप्रकाश मिश्रले आफ्नो कम्पनीबाट खरिद गर्नका लागि कमिशनको डिल गरेका थिए । डिल भएपछि अन्तिम चरणमा मन्त्री बास्कोटाले स्वीस कम्पनीबाट प्रेस खरिद नगरी अर्कै देशबाट खरिद गर्न लाग्दा मिश्रले अडियो क्लिप सार्वजनिक गरेका हुन् ।
मिश्रले सार्वजनिक गरेको अडियो अनुसार २५ अर्बमा प्रेस खरिद भएमा ७४ करोड कमिसन आउने र ५५ करोडसम्म कमिसन दिन मिश्र तयार देखिन्छन् । यसको मतलब मिश्रले २० करोड आफूलाई राख्न तयारी गरेका थिए । उक्त अडियोमा २५ अर्बको प्रेसलाई २८ अर्बसम्म बनाएर बढी कमिशन खाने तयारी मन्त्रीको देखिन्छ ।
मन्त्री बास्कोटाले पछि जर्मन कम्पनी र फ्रेन्च कम्पलाई भिडाएर फ्रेन्च कम्पनीमार्फत प्रेस खरिद गर्ने अन्तिम तयारी गरेका थिए । नोटबाहेक अरू सामग्री छाप्ने गरी जर्मन कम्पनीको २३ अर्ब ७० करोड र फ्रेन्च कम्पनीको २३ अर्ब नौ करोडको कोटेसन मागिएको थियो । त्यसैको आधारमा जर्मन कम्पनीबाट प्रेस खरिद हुनै लाग्दा मिश्रको भागमा कमिशन नआउने भएपछि उनले अडियो क्लिप सार्वजनिक गरेको तथ्यहरुले प्रष्ट पारेको छ । मिश्रले स्वीस कम्पनीबाट खरिद गरेको अवस्थामा २० करोड भन्दा बढी पाउने निश्चित रहेकोमा उनको भागमा कति पनि नआउने भएपछि उनले मिडिया प्रयोग गरेर मन्त्री र खरिद प्रक्रियालाई नै अप्ठ्यारो पार्ने योजना बनेका थिए । मिश्रले २३ अर्ब नौ करोडको प्रेस आफूले ११ अर्बमा ल्याउने दाबी गरेको बताउँदै आएका छन् ।
मिश्रले अहिले प्रधानमन्त्री, संसदको समितिलाई आरोप लगाउँदै आएका छन् । समितिले उनलाई साइबर अपराध मुद्धामा पक्राउ गर्न आदेश समेत दिईसकेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।