काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीकै अगाडी नेपालको झण्डा बनाएर केक काटेकोमा विरोध जनाएकी छिन् ।

जन्मदिन मनाउने परम्परा नेपाली समाजमा भए पनि केक काटेर मनाउने कुरा अहिलेसम्म आफूलाई थाहा नभएको भन्दै उनले कडा कटाक्ष गरिन् । नेकपाको वाग्मती प्रदेशस्तरीय प्रशिक्षण भेलामा उनले जन्मदिनमा केक काट्नुको सट्टा बत्ती बालेर उज्यालो भविष्यको कामना गर्नु नेपाली संस्कृति भएको जिकिर गरिन् ।

‘केक काटेर जन्मदिन मनाउने चलन हाम्रो संस्कृति होइन । होइन कामरेड यो । त्यसमा पनि नेपालको नक्सा बनाएर आमालाई चिराचिरा पार्ने काम कहाँबाट आयो । नेपाल भनेको आमा हो ।’ उनले भनिन् ।

नेतृ शाक्यले केक काटेर खान मन लागे अन्य दिनमा पनि काटेर खान मिल्ने भन्दै जन्मदिन बत्ती बालेर र केक काटेर नमनाउन समेत आग्रह गरेकी छिन् । ‘तपाईँलाई मन लागेको छ भने काटेर खानुहोला तर जन्मदिनमा केक नकाट्नुहोला । बत्ती ननिभाइ दिनुहोला । बत्ती बाल्दिनु होला, उज्यालोको भविष्यका लागि हो त्यो । जन्मदिन भनेको एक स्टेप पाको भयौँ, उज्यालौँ भयौँ, प्रगति गर्‍यौँ भनेर देखाउने कुरा हो ।’ उनले भनिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।