नेपाली धेरै भएको देशमै तिब्र रुपमा फैलियो कोरोना, सतर्क रहन नेपालीलाई आग्रह

काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरसले अहिले विश्वव्यापी रुप लिएको छ । पछिल्लो समय दक्षिण कोरिया, इरान हुँदै खाडी मुलुकमा यो भाइरस वृद्धि भएको छ ।
चीनमा फैलिएको भाइरस भन्दा पछिल्लो समय खाडी मुलुक र दक्षिण कोरिया लगायत देशमामा फैलिएको भाइरसले नेपालीलाई बढी खतरा देखिएको छ ।

चीनमा उच्च सतर्कता हुनु र कम नेपाली उपस्थितिका कारण नेपालमा अलिक कम खतरा रहे पनि अहिले खाडी मुलुकमा तिब्र रुपमा यो भाइरस फैलिए पछि नेपालीमाथि पनि खतरा बढेको हो ।

दक्षिण कोरियामा ३ हजार ५ सय २६ जनालाई संक्रमण भएको छ भने १७ जनाको निधन भएको छ । दक्षिण कोरियामा ३७६ जना नयाँ संक्रमित फेला परेका छन् । इटालीमा ११ सय २८ जना संक्रमित फेला परेका छन् भने २९ जनाको ज्यान गएको छ । इरानमा ५ सय ९३ जना संक्रमित भेटिएका छन् भने ४३ जनाको ज्यान गइसकेको छ । जापानमा कोरोनाबाट थप एकको निधन भएको छ । त्यहाँ मर्नेको संख्यामा ६ पुगेको छ भने २ सय ४१ जनालाई संक्रमण भएको छ । हङकङमा ९५ जना संक्रमित फेला परेका छन् भने २ जनाको निधन भएको छ ।

अष्ट्रेलियामा समेत कोरोनाबाट थप एकको निधन भएको छ । केही दिन अघिको तथ्यांक अनुसार खाडीका देशहरुमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, यूएईमा २१, ओमानमा ४, कतारमा एक जना कोभिड–१९ बाट संक्रमित भएको पाइएको छ ।
नेपाली रोजगारी तथा अध्ययनका लागि अत्याधिक भएको देशहरुमा कोरोनाको संक्रमण बढ्दै गएको हो । खाडीस्थित नेपाली दूतावासहरूले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन् । वल्डमिटर इन्फोका अनुसार हालसम्म कोरोनाबाट २९ सय ७९ को निधन भएको छ । विश्वभर ८७ हजार संक्रमित फेला परेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।