काठमाडौं । सामान्य अवस्थामा २ रुपैयाँ भन्दा कम मूल्यमा पाइने मास्क अहिले बजारमा ४० रुपैयाँमा बिक्री भइरहेको छ । कोरोना भाइरसको त्रास विश्वभर वृद्धिका कारण नेपालमा मास्कको अभावसँगे कालो बजारी भएको हो ।
बजारमा सर्वसाधरणले ५ रुपैयाँमा पाउने मास्कको होलसेल मूल्य १ रुपैयाँ ८० पैसा पर्ने गरेकाे थियो । एक व्यवसायीका अनुसार उत्पादन हुँदा एक प्याकेट अर्थात ५ वटाको मूल्य ८० रुपैयाँमा बिक्री हुदै आएको थियाे ।
हाल एक प्याकेजको मूल्य १८ सयसम्म पुगेको बताइन्छ । सर्वसाधरणले एक वटाकाे ४० रुपैयाँ हालेर किन्न बाध्य भएका छन् । सरकारी तहबाट मास्क उत्पादन तथा कालोबजारी रोकथाममा कुनै पहल भएको पाइएको छैन । ४० रूपैयाँमा पनि सहजै सर्वसाधरणले मास्क पाउने अवस्था नरहेकाे बताइन्छ । बजारमा मास्क विभिन्न गुणस्तर र प्रकारका पाउने गरिन्छ । ती सबैको मूल्य बढेको छ भने बजारमा अभाव सिर्जना भएको छ । ज्वरो नाप्ने मेसिनको समेत व्यवसायीले मूल्य बढाएको उपभोक्ताले गुनासो गरेका छन् ।
किन बढ्यो मास्कको मूल्य
चीनमा कोरोनाले महामारीको रुप लिएसँग नेपालमा भएका मास्कहरु चिनियाँ पक्षले उठाएर लगेका थिए । चिनियाँहरुले जति भेट्यो त्यति मास्क उठाएर चीन लैजाँदा यहाँ अभाव सिर्जना हुन पुगेको हो । नेपालमा हाल दैनिक १० हजारको संख्यामा मास्क उत्पादन हुने गरेको बताइन्छ । मास्कको लागि प्रयोग गरिने ‘र मेटरियल’ भने चीनबाट नै ल्याउने गरिन्छ । एक व्यवसायीका अनुसार पहिले नै ल्याएको मेटरियल प्रयोग गरेर अहिले मास्क उत्पादन हुने गरेको छ । सकिए पछि के गर्ने भन्ने चिन्ता रहेको छ ।
हप्तामा ५ लाख मास्क उत्पादन गर्ने मेसिन ल्याउने तयारी
नेपाल चेम्बर अफ कमर्सले मुलुकमै ठूलो परीमाणमा मास्क उत्पादन गर्ने मेसिन ल्याउने प्रस्ताव सरकारसमक्ष गरेको बताइएको छ । मंगलबार सरकार र निजी क्षेत्रका प्रतिनिधिहरुको कोरोना भाइरसको जोखिम र बजार व्यवस्थापनका विषयमा भएको छलफलका बेला उक्त प्रस्ताव राखिएको बताइएको छ । सरकारले सहयोग र केही सहुलियत दिएमा एक हप्ताभित्र उक्त मेसिन ल्याएर उत्पादन थाल्ने चेम्बरले जनाएको छ ।







