काठमाडौं । काठमाडौंमा सञ्चालित विद्युतीय बसमा ज्वरो नापेर मात्रै यात्रा गर्नुपर्ने भएको छ । सुन्दर यातायात कम्पनीले बिहीबारदेखि ज्वरो नापेर मात्रै गाडीमा प्रवेश गराउने जनाएको हाे । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास फैलिएसँगै कम्पनीले संक्रमणबाट जोगिन यस्तो निर्णय लिएको हो ।
कम्पनीका अध्यक्ष भेषबहादुर थापाले तापक्रम तथा ज्वरो जाँच्न ४ वटा इन्फ्रारेड थर्मेमिटर ल्याएको बताए । ‘हाम्रा गाडी उत्पादक चिनियाँ कम्पनी बिएकेले थर्मोमिट पठाएको छ, ’उनले भने, ‘उक्त कम्पनीले देशभरका बिजुली बस खरिदकर्तालाई पठाएको रहेछ ।’ उनका अनुसार ज्वरो जाँच्नका लागि प्रत्येक बसमा चालक र सहचालक बाहेक दुई जना कर्मचारी खटाइनेछ ।
ज्वरो नाप्दा १ सयभन्दा बढी तापक्रम पाइएमा यात्रुलाई मास्क उपलब्ध गराइने र अस्पताल जान सुझाव दिइने उनले बताए । ज्वरो आएको देखिएमा त्यस्ता यात्रुहरु गाडीमा चढ्न नपाइने उनको भनाइ छ । कम्पनीले जिल्ला प्रशासन कार्यालय , यातायात व्यवस्था विभाग र सरुवा नियन्त्रण महाशाखासँग छलफल गरेर नै यस्तो व्यवस्था लागु गर्ने भएको हो । कान्तिपुर दैनिकमा प्रकाशित छ ।