के हुँदैछ यूएई र अस्ट्रेलियामा कोरोना सङ्क्रमित नेपालीलाई ?

काठमाडौं । अहिले कोरोना भाइरस अर्थात कोभिड–१९ को महामारी विश्वभर परेको छ । नेपाल भित्र एक जनालाई संक्रमण देखिएको र उनी पूर्ण रुपमा निको भएको अधिकारीहरु बताउँछन् । विश्वभर १ लाख ८७ हजार ३ सय ५५ मा संक्रमण देखिसकेको छ भने ७ हजार ४ सय ७७ को निधन भईसकेको छ ।
कोरोनाकै कारण नेपाल बाहिर संयुक्त अरब इमिरेट्स (यूएई) र अस्ट्रेलियामा तीन जना नेपालीमा पनि कोरोनाभाइरस सङ्क्रमण देखिएको छ । बिबिसी नेपाली सेवाले अधिकारीहरुको भनाई उदृत गर्दै एकजना भाइरसमुक्त भएको र दुईजनाको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ । एक साताअघि यूएईको स्वास्थ्य मन्त्रालयले दुई जना नेपाली नागरिकमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको जनाएको थियो। अहिले उनीहरुलाई उनीहरूलाई अबुधावीस्थित एक अस्पतालमा राखिएको छ ।
अस्ट्रेलियास्थित नेपाली दूतावासकी एकजना अधिकारीका अनुसार त्यहाँ कोरोनाभाइरस सङ्क्रमण देखिएका एकजना नेपाली विद्यार्थी सङ्क्रमणमुक्त भएर घर फर्केका छन्। नेपालबाट सिङ्गापुर हुँदै अस्ट्रेलिया पुगेका ती व्यक्तिमा दुई साताअघि सङ्क्रमण पुष्टि भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।