Wednesday, September 23, 2026
20.1 C
Kathmandu
Home मुख्य समाचार काठमाडौँ उपत्यकाका २० ठाउँमा हात धुने व्यवस्था

काठमाडौँ उपत्यकाका २० ठाउँमा हात धुने व्यवस्था

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका बढी भीडभाड हुने २० स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको छ । कोभिड–१९ को जोखिम बढेसँगै बस पार्क, तरकारी बजार, मुख्य चोकलगायत स्थानमा पानीको व्यवस्थापन गरिएको लिमिटेडले जनाएको छ ।
उपत्यकामा आवश्यक अरु स्थानमा समेत यो सेवा विस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । ती स्थानमा ५०० लिटर पानीसँगै हात धुने साबुनको व्यवस्था गरिएको छ । प्रशोधित पानी नियमितरूपमा उपलब्ध गराइने उहाँको भनाइ छ । ट्याङ्कीमा पानी खाली भए/नभएको हेर्ने जिम्मेवारी कर्मचारीलाई दिइएको छ । उनले भने, “स्थानीयवासीले पनि आफ्नो क्षेत्रमा रहेको ट्याङ्कीमा पानी भए/नभएको जानकारी गराउन सक्छन् ।”
कोरोना भाइरसको जोखिम बढिरहे पनि लिमिटेडले नियमितरूपमा उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको छ । भाइरस रोकथाम र नियन्त्रणका लागि लिमिटेडले मास्क, स्यानिटाइजर, साबुनलगायत आवश्यक सामग्री उपलब्ध गराएर कर्मचारीलाई नियमित काममा लगाएको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।