काठमाडौं । कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवती कतार एअरवेजको उडानबाट नेपाल आएको दिन ४ सय ६९ यात्रु भित्रिएको खुलेको छ । कोरोनाको संक्रमण पुष्टिपछि टेकुमा उपचाररत ती युवती आएको दिन कतार एअरवेजका तीन वटा उडानमार्फत् ४६९ जना नेपाल आएको खुलेको हो । जसमा ती युवती चढेको विमानमा १५८ जना यात्रुु रहेको खुलेको छ ।
कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको प्रहरीले जनाएको छ ।
ती किशोरी नेपाल आएको दिन क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतार एअरवेजले तीनवटा उडान गरेको बिबिसी नेपाली सेवाले उल्लेख गरेको छ । फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएको जनाइएको छ । ती युवती चढेको जहाजका यात्रुमा संक्रमणको उच्च जोखिम भएपनि अन्य जहाजमा रहेका यात्रुले अत्तलिनु पर्ने अवस्था नभएको सरकारले जनाएको छ । अन्य जहाजमा यात्रा गर्नेलाई सतर्क रहन र ज्वरो रुघाखोकी लागेमा स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
कोरोना भाइरस कोभिड-१९ अहिले १८७ वटा देश र क्षेत्रमा फैलिसकेको छ । त्यस्तै, १७ हजार बढीको ज्यान गएको छ भने ४ लाख बढीलाई संक्रमण देखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।