को हुन् पहिलो पटक उपत्यका बाहिर भेटिएका कोरोना संक्रमित व्यक्ति, कहाँबाट आए उनी ?

काठमाडौं । विश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि बढ्दो छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार आएको रिपोर्टमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाबाहिर देखिएको यो पहिलो केश हो । मन्त्रालयका अनुसार धनगढीमा पहिलो पटक उपत्यका बाहिर कोरोना संक्रमित भेटिएका हुन् । ती व्यक्ति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । उनी दुबईबाट आएका हुन् । दुबईबाट फर्किएका ती व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएको र शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गराउँदा काेरोना संक्रमण देखिएको हाे ।

स‌ंक्रमित व्यक्ति ३४ वर्षीय पुरुष रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको व्यक्तिगत विवरण गोप्य राखिएको छ ।
 

    इटालीमा जस्तै तपाई हाम्रो घरमा लास उठाउने मान्छे नपाए के हुन्छ…

यसअघि कोरोना संक्रमित व्यक्ति पनि युएईबाट नेपाल आएका थिए । धादिङ निवासी ती व्यक्ति ३२ वर्षीय भएको र एअर अरेबियाको फ्लाइट नम्बर जी–९५३७ मार्फत युनाईटेड अरब इमिरेट्स युएई सारजाहबाट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । अहिले संक्रमित व्यक्ति पनि दुबईबाट आएको मन्त्रालयले जनाएको छ । बाँकी विवरण संकलनको काम भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यसअघि कोरोना संक्रमित युवती फ्रान्सबाट कतार हुँदै नेपाली आएकी थिइन् । ती दुई जनाको राजधानीमा उपचार जारी छ ।

त्यस्तै, त्यसअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो, जो उपचारपछि निको भएर घर फर्किसकेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

कोरोना संक्रमित तेस्रो व्यक्ति धादिङका, विदेशबाट नेपाल आएपछि पार्टी र घुमघाममा…

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।