भारतीय सिमामा अलपत्र नेपालीलाई देश र सरकार भएको अनुभूति दिलाउ : सांसद भुसाल

काठमाडौं १८ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य पम्फा भुसालले भारतीय सिमानामा अलपत्र परेका नेपालीलाई तत्काल उद्धार गर्न माग गरेकी छिन् ।
सांसद भुसालले उनीहरुलाई नेपाल ल्याउने व्यवस्था मिलाएर देश र सरकार भएको अनुभूति दिलाउन समेत सरकारसँग माग गरेकी छिन् ।

भारतबाट आउने नेपाली नागरिकलाई सिमानामा रोकेको प्रति असन्तुष्टि जनाउँदै सांसद भुसालले तत्काल व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेकी हुन् । ‘चीनबाट जहाजमा नेपाल सरकारले आफ्ना नागरिक ल्याएको थियो, त्यो ठिक छ तर अहिले मजदुरी तथा विभिन्न कामका लागि भारत गएका नेपाली सिमानामा आएर नेपाल आउन नपाउनु दुःखद विषय हो ।’ उनले भनिन् ।

विभिन्न देशले जहाज चार्टड गरेर आफ्ना देशका नागरिक लगिरहेको अवस्थामा हाम्रो देशका नागरिक भने सिमानामा आएर पनि आफ्नो भूमिमा आउन नपाउनु दुःखद् भएको उनको भनाई छ ।

सांसद भुसासले सामाजिक सञ्जालमा पनि यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । ‘नेपाल सरकार भारतबाट नेपाल आउन सीमामा आई पुगेका नेपाली जनतालाई उनीहरु सम्बद्ध पालिकामा युर्याई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी राज्य र सरकारप्रति अपनत्वको अनुभूति दिलाउने काममा बिलम्ब नगरौैं ।’ फेसबुकमा उनले लेखेकी छन् ।


भारतमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै त्यहाँका विभिन्न सहरबाट नेपाल फर्किएका नेपाली नागरिक केही दिनदेखि नेपाल–भारत सिमामा अलपत्र परेका छन् । नेपाल सरकारले स्वदेश भित्रन नदिँदा उनीहरु समस्यामा परेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।